काठमाण्डौँ / १३ हजार रुपैँयामा भारतमा बेचिएकी एक महिलाको उद्दार गरिएको छ। ती महिलाको उद्दार गरी भैरहवा ल्याइएको हो।

मानव बेचबिखनविरुद्ध कार्यरत संस्था थ्री एन्जल्स नेपालले दिल्लीको गुण गाउँबाट ती महिलालाई उद्दार गरेको हो। नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा बस्ने २४ वर्षीया परिवर्तित नाम कमला थापालाई उद्दार गरिएको हो। वैदेशिक रोजगारको क्रममा भारत हुँदै ओमन लैजाने क्रममा आफूलाई नेपाली १३ हजार रुपैँँयामा होटेलमा बेचेको ती महिलाको भनाई उद्धृत गर्दै थ्री एन्जल्स नेपालका प्रदेश पाँचका प्रमुख विपिन गौतमले जानकारी दिउनुभयो।

दुई महिनाअघि ओमान लैजाने बहानामा कमला थापा भारतको दिल्लीमा बेचिएकी हुन्। सानै उमेरमा विवाह गरेकी कमलाले श्रीमानको निधन भएपछि दुइओटा छोरालाई पालनपोषणका लागि जेठ ९ गते आफ्नो निवासबाट वैदेशिक रोजगारको लागि ओमान जाने भनी भारतको बाटो हुँदै गएकी थिइन्।

उनकी दिदीले बहिनी बेचबिखनमा परेकोले उद्दार गर्नका लागि थ्री एन्जल्स नेपाल शाखा कार्यालय भैरहवामा निवेदन दिएपछि संस्थाको उद्दार टोली आफन्तसहित उद्दार गर्नको लागि दिल्लीको गुणगाउँस्थित पाँच नम्बर सेक्टरमा पुगेर पीडित महिलाको उद्दार गरी नेपाल ल्याएको हो। अहिले ती महिला थ्री एन्जल्स नेपालको सुरक्षित आवास गृहमा बसेकी छन्।