काठमाण्डौ / रेस्पोन्सिभ मिडिया प्रालिले गत बर्षबाट सुरु गरेको म्युजिक अवार्ड ‘सगरमाथा म्युजिक अवार्ड’ले यो बर्ष पनि निरन्तरता पाउने भएको छ। आयोजक रेस्पोन्सिभ मिडियाले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘सगरमाथा म्युजिक अवार्ड २०७६’को आवेदन खुल्ला भएको जानकारी दिएको हो।

२०७५ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म तोकिएको छ। जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिनुभयो।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन्।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ। गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ।