वीरगञ्ज / अघिल्लो बुधबार बाराको पथलैयाबाट १७ वर्षीया किशोरी बेपत्ता थिइन्। छरछिमेक, आफन्त र चिनजान सबैतिर पुग्दा पनि केही अत्तोपत्ता नलागेपछि परिवारले प्रहरी गुहारे। इलाका प्रहरी कार्यालय, सिमराले थालेको अनुसन्धानका क्रममा किशोरी अल्पाइन अस्पतालको बेडमा भेटिइन् तर, बोल्न सक्ने अवस्थामा थिइनन्।

चिकित्सकको सल्लाह बमोजिम उनलाई थप उपचारका लागि नारायणी अस्पताल लगियो। जब उनको होस खुल्यो, तब किशोरीमाथि बलात्कार भएको रहस्य खुल्यो। सिमराका डीएसपी गोविन्द पुरीकाअनुसार उनीमाथि जीतपुर सिमरा उपमहानगर–१, पथलैयास्थित होटल संगालो एण्ड गेष्ट हाउसमा बलात्कार भएको पाइएको छ।

आमाछोरीको प्रलोभनमा पर्दा‘

अनुसन्धान अधिकृतकाअनुसार २२ असारको बिहान सिमराकी २१ वर्षीया सीनाराय कुर्मीले ललाइफकाई होटल संगालो एण्ड गेष्ट हाउसमा लगेकी थिइन्। जहाँ सोनीकी आमा ४० वर्षीया पूर्णिमा राय कुर्मी पनि थिइन्। आमा–छोरी मिलेर यो होटल सञ्चालन गरेका हुन्।

पीडितको बयानअनुसार पूर्णिमाले उनलाई आर्थिक प्रलोभन देखाउनुका साथै नशालु पेय पदार्थ खुवाएका थिइन्। त्यसपछि ढोका थुनेर राखिएको उनको भनाइ छ। भोलिपल्ट साँझ केही युवालाई पठाएर आफूमाथि बलात्कार गरिएको किशोरीको भनाइ छ।

त्यसवापत प्रतिव्यक्ति ३ हजार रुपैँया लिएको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले पीडित किशोरीको पनि शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान गरिरहेको छ। आर्थिक लाभसँगै कपडा र मोबाइल किनिदिने प्रलोभन देखाएपछि उनी होटलसम्म पुगेको देखिएको अनुसन्धान अधिकृत बताउहुन्छ। ‘लठ्याउने कुरा खुवाएर पुरुषलाई खुशी पार्नुपर्ने बताएका थिए’, किशोरीले भनेकी छन्।

पीडितको स्वास्थ्य परीक्षणबाट उनीसँग शारीरिक सम्बन्ध राखिएको पुष्टि भएको प्रहरीले जनाएको छ।पीडितको आमाले किटानी जाहेरी दिएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

पक्राउ पर्नेमा होटल सञ्चालिका आमाछोरी पूर्णिमा राय र सीनाराय कुर्मीसहित बलात्कारमा संलग्न विशालकुमार गुप्ता छन्। कानुनतः १८ वर्ष पूरा नभएकासँग सहमतीमै सम्बन्ध भएपछि बलात्कार मानिन्छ। पीडितको उजुरीका आधारमा अर्का व्यक्तिलाई बुधबार वीरगञ्जबाट पक्राउ गरिएको छ तर, उनको परिचय खुलाइएको छैन।

जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी रञ्जितसिंह राठौरका अनुसार सोधपुछका लागि नियन्त्रणमा लिइएका पुरुष सैनिक हुन् तर घटनामा उनको संलग्नता स्पष्ट भइनसकेकाले परिचय गोप्य राखिएको उहाँले बताउनुभयो।

अधिकृतहरुका अनुसार पक्राउ परेका आमा–छोरीले कसूर स्वीकारिसकेका छन् तर, पीडित भनिएकी किशोरी पनि दोषी रहेको उनीहरुको दाबी छ। उनीहरु पूर्वप्रहरी परिवारकै सदस्य हुन्।