धरान / मंगलबार (आज) हुने मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलमा मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लब भिड्ने भएका छन्। धरान १६ स्थित रंगशालामा आज दिउँसो साढे ३ बजे झापा र मोरङबीच फाइनल खेल शुरु हुनेछ।

राष्ट्रिय लिग खेल्ने ढोका रहेको प्रेसिडेन्ट कपमा प्रदेश १ बाट २ टोली समावेश गर्ने एन्फा र प्रदेश सरकारबीच भएको सम्झौतामा उल्लेख छ।

समुह ए बाट विजेता बनेर फाइनल पुगेको मोरङले बौद्धिक विकास समाज समिति धनकुटा र धरान फुटबल क्लब सुनसरीलाई पराजित गरेको थियो। मोरङले धनकुटालाई ६–१ र धरानलाई २–१ ले पराजित गरेको थियो।

लिग च्याम्पियनले ४ केजी चाँदीको रनिङ ट्रफि र नगद ५ लाख पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ। यस्तै, फाइनल चरण खेल्ने अन्य ४ टिमलाई पनि ७५ हजारको दरले नगद पुरस्कार दिइने आयोजक एन्फाले जनाएको छ।

व्यक्तिगत पुरस्कारतर्फ लिगका सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने एन्फाले जनाएको छ। यस्तै, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट फरवर्ड, उत्कृष्ट कोचलाई जनही नगद २५ हजार दिइनेछ भने फाइनल खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ।