बाँके / नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमान्को कुटाइबाट ज्यान गएको छ। श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो।

उहाँका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो। जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याइए पनि चिकित्सकले केही घण्टाअघि नै ज्यान गएको बताएका थिए।

सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रहरी उपरीक्षक वलीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतकका श्रीमान् शिवकुमारसहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताउनुभयो। मृतक ललिताको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।