मोरङ / बिराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नम्वर १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ। बिराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले जानकारी दिनुभयो।

असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक रङ्गशालामा हुने उहाँले जानकारी दिनुभयो।

प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि एक करोड रुपैयाँ प्रदेश सरकार र ३३ लाख अखिल नेपाल फुटबल सङ्घ एन्फाले उपलब्ध गराएको छ। आयोजक एन्फाले लिग उपाधि विजेताको लागि करिब साढे चार किलो चाँदीको ट्रफी तयार गरेको छ।