जनकपुर / नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रदेश नम्बर २ सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने होडवाजीमा लागेको आरोप लगाउनुभएको छ। बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै पूर्व खानेपानी मन्त्री समेत रहनु भएका नेता यादवले प्रदेश २ का मन्त्रीहरुबीच कसले कति अनियमितता गर्ने भन्नेमा प्रतिस्पर्धा चलिरहेको आरोप लगाउनुभएको हो।

‘विकास निर्माणमा लाग्नु भन्दा पनि कसरी आफ्नो ढुकुटी भर्ने र सरकारी ढुकुटी सक्ने भन्ने खेलमा मन्त्रीहरु र सरकार लागिरहेको छ’ नेता यादवले भन्नुभयो, ‘प्रदेश २ भ्रष्ट प्रदेशका रुपमा अघि बढ्दैछ। संघीयतालाई नै यो सरकारले बदनाम गर्दैछ।’

संघीय संरचनामा पनि प्रदेश सरकारले पुरानो जिविसको शैलीमा बजेट विनियोजन गरेको भन्दै उहाँले असारे बजेटका नाममा उपभोक्ता समिति मार्फत मन्त्रीहरु आफ्ना कार्यकर्ता पाल्ने काममा लागेको बताउनुभयो।उपभोक्ता समितिको उद्देश्य ठीक रहेपनि गठन प्रकृया नै ठीक नरहेको उहाँको भनाई थियो।

‘आफ्ना आसेपासेलाई उपभोक्ता समितिमा राखेर कमसल काम गर्ने, बजेट दुरुपयोग गर्ने काम भइरहेको छ। आर्थिक वर्षको ११ महिनामा १३ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको प्रदेश सरकारले अन्तिम महिनामा ४ अर्ब भन्दा बढी बजेट कसरी खर्च गर्यो ?’ उहाँले प्रश्न गर्नुभयो।

प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेकाले अख्तियारले सरकारका क्रियाकलापमाथि छानविन गर्नुपर्ने यादवको माग छ। उहाँले खानेपानी, सिचाई, शिक्षालय, सडक निर्माणजस्ता भौतिक पूर्वाधारका विषयमा प्रदेश सरकार मनोमानी र स्वेच्छाचारी रुपमा अघि बढेको आरोप लगाउनुभयो। -रातोपाटीबाट