काठमाण्डाै / लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन्। दुई वर्षअघि बजारमा आएको कपडाको ब्राण्ड डीएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बीच एम्बेस्डरको घोषणा गरेको हो।

एक वर्षका लागि एम्बेस्डरको रुपमा डीएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्ना लागि यो ठूलो सफलता भएकाे बताए। ‘मेरो लागि डीएनएसँग जोडिनु ठूलो सफलता हो’, प्रकाशले कार्यक्रममा भने, ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश विदेशमा छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सकिन्छ भन्ने हो।’

सम्झाैतापछि डीएनएका तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गर्दै पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउनुभयाे। कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिति रहेको थियो।

गायक सपूत पछिल्लो समय सार्वजनिक भएकाे ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन्। उनको याे गीत केही समय भाका मिलेकाे भन्ने विवादमा पनि रह्यो। प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् जसका यूट्यूबमा करोड बढी भ्युज छन्।