काठमाण्डौ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराउनुभएको छ। बुधबार बिहान बसेको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराउनुभएको हो।

उहाँका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने ठाँउमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो। ‘प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो’, उहाँले भन्नुभयो। गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

सो घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिनुभयो। उहाँले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र सो पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उहाँले बताउनुभयो।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार हतियारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा बुधबार ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा सो घटना भएको र घटनामा अन्य दुई जना प्रहरी जवानसमेत घाइते भएको जनाएको छ। उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।

सो समूहका अन्य चार/पाँच जना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।