काठमाण्डौ / गृहमन्त्री रामबहादुर थापा बादलले देशमा शान्ति सुव्यवस्था कायम गर्न र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले गोली चलाउदा सर्लाही घटना भएको स्पष्टिकरण दिनुभएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उहाँले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाहीका घटना भएको बताउनु भएको हो। 

सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, नागरिकको जिउधनको रक्षा गर्न सरकारले कदम चालेको बताउनुभयो।

गएको असार ५ गते सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको ज्यान गएको थियो। पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो।