काठमाण्डौ / भारतको मध्यप्रदेशमा बनेको बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा पर्याप्त पानी पर्न नसकेको मौसमविद्ले बताएका छन्। 

बंगालको खाडी र अरब सागरबाट आएको पानी पार्ने जलवाष्पयुक्त हावा पनि त्यही न्यूनचापीय क्षेत्रतर्फ गएकाले नेपालमा पानी पर्न नसकेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो। यो न्यूनचापीय रेखा पानीमा बनेको भए चक्रवातको जोखिम हुने तर जमिनमा बनेको भएर ठूलो असर नदेखिएको उहाँको भनाइ छ।

यस्तै मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा तल रहेकाले पनि नेपालमा पर्याप्त पानी पर्न नसकेको उहाँले बताउनुभयो। स्थानीय वायुको प्रभावले थोरै ठाउँमा पानी परे पनि स्थानीय वायुलाई सहयोग गर्न अरु जलवाष्पयुक्त हावा नेपाल आउन नसक्दा पानी पर्न नसकेको उहाँले बताउनुभयो। 

बिहीबार पनि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने उहाँको अनुमान छ। तर बादल लागेपनि थोरै ठाउँमा मात्र एकैछिन पानी परेर रोकिने संभावना छ। नेपालगञ्ज, धनगढीलगायत पश्चिमका थोरै ठाउँमा बुधबार राति पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।