काठमाण्डौ / विकासोन्मुख देशका महिलामा पाठेघरको क्यान्सर धेरै देखिने गरेको पाइएको छ।

नेपाल प्रहरी श्रीमती संघ, नेपाल प्रहरी अस्पतालको आयोजना तथा टोखा नगरपालिकाको सहकार्यमा शनिबार यहाँ आयोजित ‘महिलामा हुन सक्ने क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य जाँच’का वक्ताले अल्पविकसित मुलुकका महिलामा पाठेघरको क्यान्सर धेरै हुने गरेको जानकारी दिइएको हो।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष प्रमिला खनालले नेपालमा वर्षेनी क्यान्सरका कारण हजारौँ महिलाले अकालमा ज्यान गुमाउनुपरेको बताउँदै सो रोगबाट बच्न श्रीमती संघले जनचेतनामूलक तथा निःशुल्क स्वास्थ्य जाँचको कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।

“पाठेघरको क्यान्सरबारे आम महिलामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक छ,”–उहाँले भन्नुभयो। अध्यक्ष खनालले अपराध रोकथाम र सामाजिक सुरक्षा अभिवृद्धिमा नेपाल प्रहरी श्रीमती संघले नेपाल प्रहरीसँगको सहकार्यमा समुदायलक्षित कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो।

विश्वमा पाँच लाख २८ हजार महिलामा पाठेघरको क्यान्सर देखिएकोमा ८० प्रतिशत अविकसित मुलुकका महिला रहेको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक आशा सिंहले जानकारी दिनुभयो।

सानो उमेरमा विवाह, यौन व्यवसायमा लाग्ने, बढी मात्रामा मादक पदार्थ सेवन गर्ने महिलामा धेरै पाठेघरको क्यान्सर हुने गरेको सिंहले बताउनुभयो।