गर्मी बढेसँगै अस्पतालहरुमा बिरामीको चाप बढेको छ। झाडापखाला, बान्ता, पेट दुख्ने तथा फुड प्वाइजनका बिरामी बढेका छन्। यस्ता, रोगका जीवाणुलाई गर्मी अनुकुल वातावरण हुने गरेको चिकित्सकहरु बताउँछन्।

विश्वमा बढ्दो तापक्रम (ग्लोबल वार्मिङ)ले वर्षेनी गर्मी बढाएको छ। गर्मीसंगै स्वास्थ्य समस्या पनि देखिएको छ। अधिकांश रोगका जीवाणुको वृद्धि २५ देखि ४० डिग्री सेन्टिग्रेड तापक्रममा हुने गरेकोछ।

गर्मी मौसममा वातावरणीय तापक्रम यसैको सेरोफेरोमा रहने भएकाले यो मौसममा रोगका जीवाणुको वृद्धि हुन्छ। जीवाणुहरूको वृद्धि नियमित खानामा पनि हुनसक्ने चिकित्सकहरु बताउँछन्। ती जीवाणुहरू र तिनले उत्पादन गरेका विभिन्न रसायन (टक्सिनहरू)ले विशेष गरी झाडापखाला लगाउने, बान्ता गराउने, पेट दुखाउने तथा फुड प्वाइजनिङ गराउने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ।

शरीरको तापक्रममा सन्तुलन कायम राख्न बढी पानी पिउनुपर्ने हुन्छ। निर्मलीकरण गरिएको पानी मात्र सेवन गर्नुपर्छ। गर्मीबाट जोगिन तरल पदार्थको नाममा मदिराजन्य वा धेरै बढी चिनी भएको तरल पदार्थसमेत सेवन गर्नु हानिकारक हुने चिकित्सकहरु बताउँछन्।

गर्मी छल्न पीइने रासायनिक पिय पदार्थहरुले शरीरमा भएको तरल पदार्थमा कमी गराउँछ। अत्यधिक गर्मीले शरीरको तापक्रम नियन्त्रण गर्ने प्रणालीमा अवरोध उत्पन्न गरी विभिन्न शारीरिक समस्या संगै मृत्युसमेत हुन सक्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्मीको बेला गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ।