सुन्दरहरैँचा नगरपालिका ४ स्थित अग्रणी कृषि सहकारी सँस्थाले कृषकहरुलाई धनकुटाका बिभिन्न ठाउँहरुमा अवलोकन भ्रमण गराएको छ। सँस्थामा आवद्व ८२जना कृषकलाई धनकुटाको पाख्रिबास, सिँदुवाका बिभिन्न कृषी फर्म एवं दुग्ध प्रसोधन केन्द्रहरुको अवलोकन गराएको हो।

सहकारी सदस्य एवं कृषकहरुले सो ठाउँमा गएर बाख्रापालन, बंगुरपालन, खरायोपालन, अलैँची खेती, सब्जी खेती, दुग्ध संकलन केन्द्र एवं प्रशोधन केन्द्रका बिषयमा जानकारी लिएको सँस्थाकी सदस्य भावना नेपाल(भट्टराई)ले जानकारी लिनुभयो।

अग्रणी सहकारीमा आवद्व ६०वटा समुह मध्य ८२जनालाई छनौट गरेर अवलोकन भ्रमणमा लगिएको सँस्थाका अध्यक्ष शोभितमान पौडेलले जानकारी दिनुभयो। भ्रमण अत्यन्तै उपलब्धिमुलक भएको भन्दै सँस्थाकी उपाध्यक्ष पुष्पा तामाङ्गले अवका दिनमा अग्रणीमा आवद्व कृषकले पनि सोहि अनुरुपको कृषि कर्म गर्ने प्रतिबद्वता जनाएको बताउनुभयो। उहाँले अग्रणीका कृषकले पाख्रिबास र सिँदुवाका कृषकले गरेको कृषिकर्म सिकेर सुन्दरहरैँचामा पनि सोहि अनुरुपको कृषि कर्म गर्नुपर्ने बताउनुभयो।

अवलोकन भ्रमणमा अग्रणीका अगुवा कृषकहरु खुसीलाल चौधरी, कृष्णकुमारी अधिकारी, पवित्रा राईलगायत सहकारीका लेखा समितिका चेतनाथ दाहाल,बरिष्ठ सल्लाहकार बिष्णु घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो।