धरान–१० को वडा कार्यलयले १० महिनाको अवधिमा वडाको बिकाससँगै बिभिन्न कार्यहरु गरिरहेको छ। कतिपय कामहरु सम्पन्न गरिसकेको छ भने कतिपय कामहरु गर्ने क्रममा रहेका छन्। सो वडाका अध्यक्ष हुन श्रीप्रसाद लिम्बु। २०१८ सालमा तेह्रथुमको श्रीजुङ गाविस (हाल मन्छेयाङ)मा जन्मेका लिम्बु बाल्यकालदेखि नै धरानमा बस्दै आएका छन्। हालमा वडामा भईरहेका काम र हुन बाँकी रहेका बिकासका कामका बारेमा केन्द्रित रहेर सम्वाददाता लक्ष्मी दर्नालले गरेको कुराकानी :

#. वडाध्यक्ष भएपछि के कस्ता कामको जिम्मेवारी लिईरहनुभएको छ ?
हामीले प्रायजसो वडामा हुने गरेका सबै कामहरु गरि नै रहेका छौँ। यहाँबाट हुने नागरिकताका काम, बिवाह दर्ता, बाटो निर्माण, खानेपानी, बिजुली, महिला तथा बालबालिकालगायतका सबै विषयमा रहेर जिम्मेवारी सम्हालिरहेको छु।

#. वडा सदस्य, कर्मचारीहरुमा कामको बिभाजन कसरी गर्नुभएको छ ?
वडा कार्यालयमा ४जना कर्मचारीहरु हुनुहुन्छ। उहाँहरुको दक्षता र योग्यता अनुसार कामको बिभाजन गरिएको छ। जसमा वडा सदस्य कृष्ण बहादुर राईलाई भौतिक पुर्वाधार, अनुगमन, मुद्धामामिला तथा झै–झगडा, महिला सदस्य राधिका राईलाई महिला, बालबालिका तथा लक्षित वर्ग, सदस्य शम्शेर बर्देवालाई व्यक्तिगत घट्ना दर्ता, टिएलओ गठन तथा पानी, बिजुली व्यवस्थापन न्यायिक समिति र दलित महिला सदस्य अरुणा सुन्दासलाई स्वास्थ्य बिमा तथा सरसफाईको जिम्मेवारी दिईएको छ। सोही जिम्मेवारी अनुसारनै उहाँहरुले ईमान्दारका साथ काम गरिरहनुभएको छ।

#. तपाई वडाध्यक्ष भएपछि यहाँ बाटोहरु कति थपिए ?
यहाँका प्रायजसो सबै वडाका बाटोहरु पुननिर्माणको काम भईरहेको छ। प्रायजसो वडाका टोलटोलमा धेरै बाटोहरु कच्ची थिए। त्यस्ता बाटोहरुलाई पक्की बाटो बनाउन हामी १०महिनादेखि नै लागि परेका छौँ। भर्खरै मात्र १ किलोमिटरसम्मको धर्मपथको बाटो सम्पन्न गरेका छौँ। त्यो बाटो बनाउन १४ लाख रुपैंया खर्च भयो। त्यसमा उपमहानगरपालिकाको ८० प्रतिशत र स्थानीयको २० प्रतिशतको लगानीमा बाटो निर्माण भएको हो। यसैगरी देवी स्थानमा ड्रेनमाथिको स्ल्याप हाल्ने काम गर्ने भएका छौं। त्यसमा पनि स्थानीयको ४० र नगरपालिकाबाट ६० प्रतिशतको रकमबाट नै काम गर्ने भएको छौँ। सैनिकचौकदेखि नारायण चौकसम्मको स्थानमा पनि ड्रेन माथिको स्ल्याव लाउने काम गर्ने भएका छौं। त्यसमा ८० प्रतिशत नगरपालिका र २० प्रतिशत स्थानीयको लगानीमा काम हुनेछ। नारायणपथमा १४ फिट मापदण्ड अनुसारको फराकिलो बाटो बनाउने तरखरमा छौं। यी सबै कामहरु अवको केही दिनबाटै शुरु गरिनेछ।

#. वडाको बिकासका लागि कहाँ कहाँबाट खर्च संकलन भयो ?
एकबर्षको अवधिमा हामीले बिभिन्न शिर्षकमा रहेर ३१ लाख ८ हजार ७ सय रुपैँयाबाट काम गर्नुपर्ने भएको छ। त्यसमा पनि कुल बजेटको ६० प्रतिशत नगरको बिकास र ४० प्रतिशत भने लक्षित बर्ग, महिला, बालबालिका र अन्य लक्षित बर्गका लागि काम गर्नुपर्ने हुन्छ। बाटो निर्माण, ड्रेनलगायतका लागि जनता र उपमहानगरपालिकाकै लगानीमा काम भईरहेको छ भने ९लाख ६३ हजार ४ सय रुपैँयामै लक्षित, महिला तथा बालबालिका र अन्य लक्षित बर्गको शिर्षकमा खर्च गरिरहेका छौं।

#. यस वडामा खानेपानीको अवस्था कस्तो छ ?
खानेपानीको समस्या एकदमै जटिल छ। ८ सय ४९ घरपरिवार यस वडामा छन्। उनीहरुलाई प्रयाप्त मात्रामा खानेपानी पु-याउन समस्या भईरहेको छ। दिन बिराएर खानेपानी आउने भएकोले गर्दा पनि खानेपानीको समस्या एकदमै जटिल भएको हो। पुष महिनादेखि नै हाम्रो वडामा खानेपानीको हाहाकार भएको हो। बेलगाक्षी लाईनमा त झन ४/४ दिनमा पानी आउने भएकोले त्यस क्षेत्रमा त झन पानीको समस्या नै समस्या छ। ४/४ दिनमा पानी नआउदा उहाँहरुलाई दिनचर्या गर्न नै समस्या हुने भएकोले हामीले सो क्षेत्रमा खानेपानी ट्यांकरबाट बितरण गरिरहेका छौं।

#. पानीको समस्या समाधानका लागि के छ त योजना ?
त्यसका लागि जसले मोटरद्धारा खानेपानी लिईरहेको छ उसलाई पत्ता लगाउने काम गर्ने योजना छ। र कतिपय घरपरिवारलाई पत्ता लगाएर सम्झाई बुझाई समेत गरिसकेका छौं। अझै पनि त्यस्ता परिवारको निरिक्षण गरी सम्झाउने काम गर्नेछौं। मोटर लगाएर पानी तान्दा ४ घरपरिवारलाई पुग्ने पानी १जनाले तान्ने भएकोले पनि यो अभियान जारि राखेका छौं। खानेपानीका बिषयमा हामीले उपमहानगरपालिकासँग पनि छलफलमा बस्ने काम गरिरहेका छौं।

#.लक्षित बर्ग, महिला तथा बालबालिका तथा अन्य लक्षित बर्गको शिर्षकमा के के काम भए त ?
लक्षित बर्गमा बालबालिकालाई ३ लाख ६१ हजार ३ सय ११ रुपैंया छुट्याईएको छ। त्यसमा पनि हामीले धरान १० मै रहेको पञ्चायत माविलाई १ लाख ५ हजार प्रदान गरेका छौं। सो बिद्यालयका बालबालिकाको शिक्षाका लागि सो रकम प्रदान गरेका हौं। महिलाका लागि भनेर २ लाख ४० हजार ८ सय ७२ रुपैँया छुट्याईएको छ। अब हामीले २५ जना महिलालाई आत्मनिर्भर बनाउनका लागि ३ महिने सिलाई कटाई तालिम चाँडै गर्दैैछौं। यसका साथै अहिले वडामा स्वास्थ्य बिमा कार्यक्रम पनि जारि नै छ। संस्थाका संस्कृतिको जर्गना गर्न गराउनका लागि गरिने कार्यक्रमका लागि लिम्बु, राई, नेवार र परिवार सेवा समाजलाई ४०/४० हजार रुपैँयाका दरले रकम बितरण गरेका छौं। सबैलाई प्रदान गरिसकेका छौं। परिवार सेवा समाजले पनि अब सो रकम चाडै नै प्राप्त गर्दैछन्।

#. वडावासीले आफ्ना समस्या ल्याएर तपाईकहाँ आउनुप-यो भने कसरी भेट्न सकिन्छ ?
वडाको कामको लागि सदैव कार्यालयमा हाजिर हुने गरेको छ। र अहिलेसम्म जति समस्या छन् सबै काम र समस्याहरु मसँगै ठोक्किन्छन्। नियमित देखिने समस्यादेखि अन्य समस्याहरु प्रायजसो मसँगै आउने गरेको छ। त्यसैले साना, ठूला जुनसुकै समस्या समाधानका लागि म सदैव वडाका स्थानीयका लागि तत्पर नै हुने गरेको छु। त्यसैले पनि जुनसुकै समयमा पनि वडावासीले मलाई सहजैरुपमा नै भेट्न सक्नुहुनेछ। आफ्ना समस्याहरु लिएर आउँदा यदी कुनैबेला म कार्यालयमा नहुन पनि सक्छु। त्यो समयमा वडावासीले मेरो मोवाईल नम्बर ९८१९३६८५०३ मा सम्पर्क गर्नसक्नुहुनेछ।

#. अब वडाको बाँकी काम के के हुनेछन त ?
यस वडाको सबै टोलमा पक्की बाटो बनाउने, कच्ची बाटोलाई पुननिर्माण गर्ने काम हुनेछ। वडामा खानेपानीको समस्या समाधानका पनि हामी टिम नै लागि परेका छौं। आगामी बर्षमा सिंहदेवी मन्दिरदेखि छिमेकी लाईनसम्म रेलिङसहितको फुटपाथ बनाउनेछौँ। सैनिक भवनलाईनको स्ल्याप माथिको ड्रेन बनाउने काम भएकोले सो क्षेत्रमा पुननिर्माणको काम गर्ने योजना छ। मेरो कार्यकाल भित्रमा मैले धरानलाई सफल शहरको रुपमा बिकास गर्ने योजना छ। धरानमा अझै पनि यस्ता धेरै क्षेत्रहरु छन जहाँ फोहोरमैला बाटोमै फालिने गरिएको छ। मनोमानी ढंगले फोहोर फाल्ने प्रवृत्तिलाई हटाउने कामलाई नियन्त्रण गर्ने काम मेरै कार्यकालमा हुने यसै मिडियामार्फत जनताहरु समक्ष प्रतिबद्धता गर्दछु।