काठमाण्डाै / नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिनु भएको छ। उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनु भएका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै अब पनि संशोधन नभए बाहिरिने चेतावनी दिनुभएको हो।

बिहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालय पुग्नुभएका उहाँले संविधानमा रहेका त्रुटि, कमी कमजोरी र कतिपय उल्टापाल्टालाई पनि सच्याउन संविधान संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो। अध्यक्ष यादवले संविधान संशोधन गर्ने आश्वासन दिएकाले सरकारबाट बाहिरिने काम अहिलेसम्म नभएको पनि बताउनुभयो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसँग संविधान संशोधन गर्ने लिखित सहमतिपछि यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएको थियो। त्यही सहमति कार्यान्वयन गरेर अघि बढ्दा देश र जनताको हित हुने अध्यक्ष यादवको दावी छ।