काठमाडौँ / वि.स २०५७ असार ८ गतेका दिन। टिचिङ अस्पतालकी स्टाफ नर्स श्रीलक्ष्मी प्रजापती आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो। उहाँलाई भक्तपुर कटुन्जेस्थित बहिनी विजेश्वरी प्रजापतीको घरबाट फोन आयो। १९ वर्ष अघिको त्यो दिन सम्झिँदै उहाँले सुनाउनुभयो, ‘पानी परीरहेको थियो, अनि म गाडी लिएर हतारिँदै बहिनीको घर पुगें। त्यहाँ पुग्दा अनौठो दृश्य थियो।’

घरमै काम गर्न बसेका देवीरमन अधिकारीले श्रीलक्ष्मीकी बहिनी ३३ वर्षीया विजेश्वरीको हत्या गरेका थिए। स्मृतीमा पुग्न लागिसकेको झण्डै दुई दशक पुरानो हत्याको सो घटनालाई श्रीलक्ष्मीले फेरी सम्झिईन किनकी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या पछि भागेर भारतका विभिन्न ठाउँमा लुक्दै आएका देवीरमनलाई पक्रेर सोमबार सार्वजनिक गर्यो। पक्राउको खबर सुनाउन प्रहरीले बोलाएपछि श्रीलक्ष्मी परिवारका अन्य सदस्यसँगै ब्यूरो आउनुभएको थियो।

विजेश्वरीका श्रीमान तुल्सीभक्त प्रजापती पर्सामा जिल्ला वन अधिकृत रहेका बेला पर्सा सुर्वणपुरका देवीरमनलाई नर्सरी हेरचाह गर्नका लागि करार कर्मचारीका रुपमा नियुक्त हुनुभएको थियो। पछि उहाँ सरुवा भएर काठमाडौंको वन विभागमा आउनुभो। जागिरको खाँचो देखाएपछि उहाँले जागीर खुवाउन सकिन्छ कि भनेर देवीलाई काठमाडौं ल्याएर आउनुभो। कतै जागिर खुवाउन नसकेपछि तुल्सीभक्तले उनलाई आफ्नै घरको कामदारको रुपमा राख्नुभो।

२०५७ असार ८ गतेको दिन १२ र १४ वर्षका छोराछोरी स्कुल गएपछि घरमा विजेश्वरी एक्लै थिइन्। घटनाको बखत उनका श्रीमान क्षेत्रिय वन कार्यालय हेटौंडामा कार्यरत थिए। कामदार देवीरमनले उनीसँग ११ हजार रुपैयाँ मागे। त्यही विषयमा उनीहरुबीच विवाद चर्कियो। देवीरमनले बेसिन मुनी रहेको कुटोले विजेश्वरीको टाउकोमा प्रहार गरे। त्यसपछि छुराले घाँटीमा प्रहार गरे अनि घरमा भएको ८ तोला सुन र ६ हजार रुपैयाँ लिएर भागे।

केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी दिपक रेग्मीका अनुसार झण्डै बीस वर्ष पुरानो घटनाको अनुसन्धान प्रहरीकै निम्ती साखको विषय थियो। एसपी रेग्मीले आफू महानगरिय प्रहरी अपराध महाशाखामा डिएसपी रहेका बेला पनि सो घटनाको फाईल खोलेको सम्झिनुभयो। उहाँले भन्नुभयो, ‘त्यतिबेला पनि देवीरमनको घर र ससुरालीमा एक महिनासम्म सादा पोशाकका प्रहरीले निरगानी गर्यो तर देवीरमन फेला परेनन्।’ घटनाको वर्षौं पछि पनि प्रहरीले देवीरमनको फाईल खोल्दै, थन्काउँदै गरिरहेको थियो।

घटना लगत्तै देवीरमन भागेर भारत पुगेको सूचना त प्रहरीले पाएको थियो तर उनी खुसुक्क नेपाल आउँथे, परिवार भेटथे र रातारात भारत फर्किहाल्थे। यसरी प्रहरीलाई झुक्काउँदै देवीरमन भारत बसिरहेका थिए। केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार घटनालगत्तै भागेर देवीरमन बनारस पुगेका थिए। त्यही छँदा नै उनले आफ्नो नाम बदलेर प्रकाश बनाएका थिए अनि त्यही छदम नामबाट किर्ते गरी सवारी चालक अनुमतीपत्र बनाएका थिए। ब्यूरोका अनुसार देवीरमन महाराष्ट्रको पुणे र त्यसपछि मुम्बई बस्दै आएका थिए। मुम्बईमै बिहे गरी उनले दुई सन्तान समेत हुर्काईरहेका थिए। नेपालमा रहेकी श्रीमती र दुई सन्तानलाई भने उनले पोखराको विजयपुरमा राखेका थिए।

हत्याका बेला २५ वर्षे देवीरमन ४४ वर्षको उमेरमा पक्राउ परे। श्रीमतीको मृत्युका बेला ४४ वर्षका अहिले तुल्सी ६३ वर्षका भईसकेको छ। सोमबार तुल्सीभक्त केन्द्रीय अनुसन्धान ब्यूरोको महाराजगन्जस्थित कार्यलयमा आउनुभएको थियो। उहाँले श्रीमतीको हत्यारालाई आफ्नै आँखा अगाडि हेर्न चाहानुभयो। ब्यूरोका अधिकारीले उहाँलाई देवीरमनका अघि लगिदिनुभो। तुल्सीले सुनाए, ‘त्यसले टाउको उठाएर मेरो अनुहारमा हेर्न सकेन।’

ब्यूरोको डिआईजी निरज शाहीले वर्षौंपछि पनि हत्याका अभियुक्त पक्राउ परेको यो घटनाले अपराधीहरु छिपेर बस्न सक्दैनन् भन्ने सन्देश दिएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पीडितले झण्डै २० वर्षसम्म न्याय पाउन नसकेको यो घटनाको अध्याय अब सकिएको छ।’