एजेन्सी / उत्तर प्रदेशको अलीगढमा पैसाको लेनदेलनको विवादमा अढाई वर्षकी बालिकाको हत्या भएको छ। प्रहरीले घटनाको जाँचको लागि एआईटी गठन गरेको छ। बालिकाको शव क्षतविच्छेद हालतमा नालीमा भेटिएको थियो।

घटनामा सलंग्नको आशंकामा दुई जना व्यक्ति पक्राउ परेका छन्। यो घटना अलीगढको टप्पलको हो। मे ३१ को दिन बालिका हराएकी थिइन्। उनका अभिभावकले आफ्नो छोरी हराएको मुद्दा पनि दायर गरेका थिए। तर जुन २ मा नालीमा बच्चीको शव भेटियो।

अलीगढका वरिष्ठ प्रहरी अधिकारी आकाश कुलहरीले घटनाबारे बोल्दै भने ,‘ प्रारम्भिक जाँचमा आपसी दुश्मनीको घटनाजस्तो देखिन्छ। बच्चीको पितासँगको सोधपुछमा केही दिन पहिले उनको छिमेकीमा बस्ने जाहिद नामका व्यक्तिसँग पैसालाई लिएर झगडा भएको बताए। घटनापछि बालिकाको परिवारलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिइएको रहेछ।’

अनुसन्धानका क्रममा बच्चीको अभिभावकले जाहिदसँग १० हजार ऋण लिएको देखिएको छ। तिनले सो रकम तिर्न नसकिरहेको अवस्थामा बालिकाको अपहरण पछि हत्या भएको प्रहरीको निष्कर्ष छ। प्रहरीका अनुसार घटनासम्बद्धमा दुई आरोपी जाहिद र असलमलाई पक्राउ गरिएको छ। दुवै जना मृत बालिकाको परिवारको छिमेकी हुन्।

अलीगढका वरिष्ठ प्रहरी अधिकारी आकाश कुलहरिले भने ,‘मे ३१ को दिन अपहरणको मुद्दा दर्ता भएको थियो। घटनासम्बद्धमा दुई जना पक्राउ परेका छन्। तिनले आफ्नो अपराध स्वीकारिसके। बालिका बलात्कृत भएको प्रमाणित भएको छैन। घाँटी दावेर मारिएको देखिन्छ। उनको आँखा निकालिएको छ। आरोपी अहिले जेलमा छन्।’

बालिका गुमाएकी आमाले घटनाबारे भनिन् ,‘एक सरसफाईकर्मीको सुचनापछि छोरीको शव पत्ता लाग्यो। हामी त्यहाँ पुग्दा उनको एउटा हात थिएन, खुट्टा पनि भाच्चिएको थियो। उसको आँखा एसिडले जलाइएको थियो। मेरी छोरीले के गल्ती गरेकी थिइन्, त्यस्तो गर्नको लागि। ती अपराधीलाई फासीँको सजायँ हुनुपर्छ।’

घटनाको भारतका सबै तप्काबाट विरोध भएको छ। समाजिक संजालमा मानिसहरु आक्रोश पोखिरहेका छन्। घटनामा कांग्रेस अध्यक्ष राहुल गान्धी, प्रियंका गान्धी, क्रिकेटर वीरेन्द्र सहवाग, अभिनेता आयुष्मान खुराना र कयैन परिचित व्यक्तिले टिप्पणी गरेका छन्। घटनामा लापरवाहीको आरोपमा ५ प्रहरीलाई निलम्बित गरिएको छ।