काठमाण्डौ / महिलामा पाठेघरको समस्या बढ्नु र युवाको वैदेशिक रोजगारीका कारण नेपालमा बाँझोपनको समस्या बढ्दै गएको डाक्टरले बताएका छन्। महिलामा मात्रै नभएर पुरुषमा पनि बाँझोपनको समस्या उत्तिकै देखिएको फर्टिलिटी सोसाइटी अफ् नेपालका अध्यक्ष डाक्टर भोला रिजालले बताउनुभयो।

नेपालमा निःसन्तान दम्पतीको संख्या १२ देखि १५ प्रतिशत रहेको छ। यो संख्या धेरै भएको पनि डाक्टरले बताएका छन्। रिजालका अनुसार ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष तथा ३३ प्रतिशत महिला र पुरुष दुवैमा समस्या देखिएको छ।

महिलामा पाठेघर र पाठेघरको नलीमा उच्च समस्या देखा परेको छ। वैदेशिक रोजगारीमा गएका युवाहरुमा बाँझोपनको समस्या बढेको पनि डाक्टरको भनाइ छ। विदेशमा काम गर्न जाने कामदारमा तापक्रमका कारण शुक्रकीट उत्पादनमा कमी हुने गरेको देखिएको छ।

विशेषगरी खाडी मुलुकमा काम गर्न जाने कामदारमा यस्तो समस्या देखिने गरेको छ। शुक्रकीट सामान्य अवस्थामा फर्कन झण्डै तीन महिना लाग्ने गर्छ। त्यस समयसम्म उनीहरू पुनः रोजगारीका लागि फर्किनुपर्ने हुन्छ। त्यसकारण पनि सन्तान चाहेको समयमा हुन सक्दैन। महिलाको उमेर ३५ देखि ४० नाघेपछि उनीहरूमा अण्डाको मात्रा कम हुँदै जान्छ। जसले बाँझोपनको समस्या क्रमिक रुपमा बढ्दै जान्छ।

३० वर्षभन्दा कम उमेर र ४५ वर्षभन्दा बढी उमेरका महिलामा तुलना गर्ने हो भने ४५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या धेरै बढी हुन्छ। महिलाले ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो। कुनै एक कारणले मात्र बाँझोपन हुँदैन। बाँझोपन हुने कारण धेरै छन्।

महिलामा पाठेघरको समस्या बढ्नु र वैदेशिक रोजगारीमा गएका युवाको शुक्रकीटमा कमी देखिनुले बाँझोपनको समस्या अझै बढ्ने देखिएको डाक्टर रिजालले बताउनुभयो। बाँझोपना र यसका चुनौती र समाधानका विषयमा नेपाल र भारतका विज्ञको काठमाण्डौमा अन्तरक्रिया भएको छ। यो अन्तरक्रियाबाट निःसन्तान दम्पतीका लागि थप प्रविधिको विकास र विस्तार गर्न मद्धत पुग्ने पनि उहाँले बताउनुभयो।