काठमाण्डौ / त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपणमा सफलता प्राप्त गरेको छ।

शनिबार राति शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टिमले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको हो।

डाक्टर भण्डारीका अनुसार एकजना छोरीले बुवालाई कलेजो दान गरेकी हुन् तर परिवारको आग्रहमा नाम भने नखुलाइएको डाक्टर भण्डारीले बताउनुभयो। कलेजो प्रत्यारोपण गर्न झण्डै १६ घण्टा लागेको डाक्टर भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रबार बिहानदेखि सुरु भएको शल्यक्रिया शनिबार मध्य रातमा सकिएको थियो।

नेपालमा २५ लाख रुपैयाँको हाराहारीमा कलेजो प्रत्यारोपण गर्न सकिने उहाँको भनाइ छ। यस्तै परिवारभित्रकै नजिकैको व्यक्तिले मात्र कलेजो दान गर्न सक्नेछन्।

डाक्टर भण्डारीका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ। कलेजो दान गर्ने व्यक्तिको शरीरमा बोसो जमेको हुन नहुने तथा कलेजो लिने व्यक्तिसँग रक्त समुह पनि मिलेको हुनुपर्ने उहाँले जानकारी दिनुभयो। अबको केही समयपछि शिक्षण अस्पतालमा महिनामा कम्तीमा पनि एउटा कलेजो प्रत्यारोपण गर्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो। त्यसपछि वर्षमा २०–२५ वटासम्म कलेजो प्रत्यारोपण गर्ने लक्ष्य रहेको डाक्टर भण्डारीको भनाइ छ।

डाक्टर भण्डारीले सन् २००९ मै अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने सपना देख्नु भए पनि १० वर्षपछि मात्रै आफ्नो सपना पूरा भएको बताउनु भएको छ। उहाँले आफूले विदेशमा गएर यसबारे विस्तृत अध्ययन गरेको बताउनुभएको छ।

सबैको टिम वर्कले मात्रै अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको भन्दै डाक्टर भण्डारीले शल्यक्रियामा संलग्न डाक्टर तथा नर्सहरुको टोलीलाई धन्यवाद दिनु भएको छ। यसअघि भक्तपुरमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन।

त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपणपछि अब बिरामीलाई भारत जानुपर्ने बाध्यता हट्ने डाक्टर भण्डारीले बताउनु भएको छ।