काठमाडौं / वैदेशिक रोजगार विभागले इजाजत प्राप्त मेनपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक समय थप गरेको छ। 

विभागले इजाजत प्राप्त मेनपावर कम्पनीलाई यही वैशाख २३ देखि २९ गतेसम्म आफ्नो कम्पनीको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको थियो। 

तोकिएको समयावधिभित्र विवरण अद्यावधिक गर्न नसकेका मेनवापर कम्पनीको आग्रहमा विभागले पुनःम्याद थप गरेको हो। विभागका प्रवक्ता भोलानाथ गुरागाईंले विवरण अद्यावधिक गर्न छुटेका मेनपावर कम्पनीले आगामी जेठ ३ गतेसम्म विवरण भर्न सक्ने जानकारी दिनुभयो। थप गरिएको समयवधिभित्र विवरण अद्यावधिक नगरेमा त्यस्ता मेनपावर कम्पनीको अनलाइनमार्फत सञ्चालन हुने सम्पूर्ण कारोवार बन्द गरिने विभागले चेतावनी दिएको छ। 

कारोवार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न पाउने छैनन्। मेनपावरले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जाललगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ। विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन्।

विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरेको छ। ८० भन्दा बढी मेनपावर कम्पनीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आफ्नो विवरण अद्यावधिक नगरेको विभागले जनाएको छ।