काठमाडौं / लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४ सय ९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती पदमा पदपूर्तिको आग्रह गर्दै लोकसेवा आयोगमा लिखित पत्र पठाएपछि आयोगलाई विज्ञापन गर्ने बाटो खुला भएको हो। हाल ७ सय ५३ वटा स्थानीय तहमा झन्डै १६ हजार कर्मचारी रिक्त छ।

मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त पदको विवरण माग गरेको थियो। त्यसरी माग गरेपछि ४ सय ३७ वटा स्थानीय तहले ११ हजार ४ सय ९२ पदको विवरण मन्त्रालयमा पठाएका थिए। स्थानीय तहको मागका आधारमा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका पदमा लोकसेवाले अब छिट्टै विज्ञापन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिनुभयो।

४ सय ३७ बाहेक अन्य स्थानीय तहबाट विवरण नआएकाले थप संख्या भने मन्त्रालयले आयोगमा पठाएको छैन। बाँकी स्थानीय तहबाट विवरण आएमा फेरि थप संख्यामा पदपूर्तिको माग गर्दै आयोग पठाइने मन्त्रालयले जनाएको छ। लोकसेवा आयोगले विज्ञापन गर्दा स्थानीय तहकै लागि भन्दै विज्ञापन गर्ने छ र उत्तीर्ण भएका सबै स्थानीय तहकै कर्मचारीका रूपमा रूपान्तरण हुने आयोगले जनाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश १ का १ सय ३७ स्थानीय तहमध्ये ९४ का लागि २ हजार ५ सय ५ पदमा विज्ञापन हुनेछ। यसैगरी, प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये ५५ वटा स्थानीय तहका लागि १ हजार ७ सय ४९, प्रदेश ३ स्थित १ सय १९ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ५ सय २७ पदमा विज्ञापन हुनेछ।

त्यसैगरी, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६२ तहका लागि १ हजार ६ सय, प्रदेश ५ का १ सय ९ स्थानीय तहमध्ये ७३ तहका लागि १ हजार ८ सय ७२, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ३५ तहका लागि ८ सय ५५ र सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये ५६ वटाका लागि १ हजार ३ सय ८४ पदमा विज्ञापन हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको समाचार राजधानी दैनिकमा छ।