लामै भो नि है, हाम्रो सम्बन्ध !
सबै फेरिए तर हामी पात्र मात्र पो उहि ।
त्यहि भएर अब गुनासो हैन आउ बैमान गरौं ।
यसो अलिकति छलिएर तिमी मलाई बैमान गर ।
मपनि तिमीबाट छलिएर सम्बन्धलाई बैमान गर्छु ।
सम्बन्धमा नया पन भएन भने,
अनि इमान्दार हुनै नसकिने भए
मैले तिमीलाई अनि तिमीले मलाई
बैमान गर्नुको विकल्प पनि त छैन ।
त्यसैले आउ
म उनीसंग अनि तिमी उ संग लहसिएर
हाम्रो सम्बन्धलाई बैमान गरौं ।
किनकी देउरालीको बाचा
नविकरण नभएको पनि धेरै भयो ।
तिमी अनि म बसेर
स्वप्न बगैंचा नडुलेको पनि त निकै भयो ।
हात समाएर असन्तुलित हुदै
तिनाउ तरेको त अब सम्झना मात्रमै त सिमत बन्यो ।
त्यो चटपेट वाल, अनि त्यो सिनेमा घर ।
अनि भेडेटारका डाडाहरु अहिले पनि उस्तै छन ।
तर, तिमीले जहाज चढेपछि पो ति सबै विरानो भए ।
बारम्बार तिमीसित
साक्षत्कार गर्ने मेसो नभएपछि
धेरै प्रणय दिवशहरु
सम्झनामा मात्रै सिमत भएपछि
अनि तिम्रा लागि टिपेका
गुलावका फूलहरु त्यसै ओइलिएपछि
भो अब सम्बन्धलाई नविकरण गर्नु भन्दा बरु बैमान गरुँ ल ।
भेडेटारको चिसो सिरेटोमा उडेको
तिम्रो कपाल सम्हादै त्यहि फलैंचामा
तिमी उस्को हात समात्नु ।
अनि फुर्सद मिल्यो भने अलिकति मलाई सम्झनु
यो त्यहि फलैंचा हो ।
जहा हामीले हाम्रो प्रेम त्यसरीनै साटेथ्यौं कुनै बेला ।
उस्को हात समाएर
अलिक माथि आत्मघर तिर लानु
अनि मैले जस्तै तिमीले पनि
उस्लाई त्यता देखाउदै भन्नु
हामी मरेपछि हाम्रो आत्मपनि यहि आओस है ।
मैले त्यसो भन्दा तिमीले मयालु पाराले
मेरो गालामा गरेको र्स्पर्श झै
उस्ले तिमीलाई त्यसो गर्छ की गर्दैन जाच्नु ।
बेफुर्सद भएपछि अनि टाढिए पछि
टाढाको शहरमा तिमी
अनि अझ टाढा म भएपछि
इमान्दारीता देखाउदै
पटक पटक किन बैमान गरिरहनु ।
त्यसैले आउ अब खुलेरै सम्बन्धलाई बैमान गरुँ ।
अलिकति छलिएर तिमी मलाई बैमान गर ।
अलिकति म तिमीसंग छलिएर
तिमीलाई बैमान गर्छु ।
इमान्दारीताले थेक्नै नसक्ने भएपछि
भएजस्तो भएर नहुनु भन्दा
फूले जस्तो भएर उजाडीनु भन्दा बरु
आउ इमान्दारीको धज्जी उडाउदै
तिमी मलाई, अनि म तिमीलाई
दुवैले एक अर्कालाई बैमान गरौं ।
वेदराज पौडेल
२०७४ फागुन २६,इटहरी