बिराटनगर / नोबेल शिक्षण अस्पतालले बिगत एक बर्षको अवधिमा स्वास्थ्य शिविर मार्फत ६५ हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ। २०७५ बैशाखदेखि चैतसम्मको अवधिमा प्रदेश नम्बर १ र २ का १२ वटा जिल्लामा ८७ वटा शिविर सञ्चालन गरी ६५ हजार ३ सय ४७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ।

नोबेलले प्रदेश नम्बर १ का झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, उदयपुर, सोलुखुम्बु र इलाममा शिविर सञ्चालन गरेको छ। त्यस्तै प्रदेश नम्बर २ को सिरहा, सप्तरी र धनुषाका बिभिन्न ठाँउमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो।

Nobel-Swastha-Sibir-Photo3

एक बर्षको अवधिमा सबैभन्दा बढी मोरङमा ५७ पटक सञ्चालित शिविरबाट ३७ हजार बिरामी लाभान्वित भएका छन्। यता झापामा ८ वटा शिविरबाट ७ हजार बिरामीले निःशुल्क उपचार पाए भने सुनसरीमा ११ वटा शिविरबाट ९ हजार भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिए।

सो क्रममा ७ हजार ४ सय जनाको ईसीजी, १० हजार ५ सय ४० जनाको ल्याबटेष्ट र १ हजार ४ सय २५ जनाको भिडियो एक्सरे गरिएको छ। शिविरमा मुख्यगरी हाडजोर्नी, छाला तथा आँखाको समस्याका साथै पाठेघरमा मासु पलाएको, निमोनिया लगायत समस्याका बिरामी बढी भेटिएका थिए। बिगत एक बर्षको अवधिमा तराई क्षेत्रमा लाभान्वित बिरामीको संख्या धेरै छ भने हिमाली र पहाडी जिल्लामा पनि कम छैन। गाउँ घरमै निःशुल्क स्वास्थ्य शिविरबाट उपचार पाउँदा बिरामीहरु पनि हर्षित छन्।

Nobel-Swastha-Sibir-Photo1

यसैवीच नोबेलले गत आर्थिक बर्ष २०७४/०७५ मा पूर्वी नेपालका बिभिन्न जिल्लामा ६५ पटक शिविर सञ्चालन गरी ४९ हजार २ सय ११ जना बिरामीको निःशुल्क उपचार गरेको थियो। बिपन्न तथा उपचारको सहज पहुँच भन्दा बाहिरका बिरामीलाई लक्षित गरी पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ।

नोबेलले पूर्वी तराईका भित्री गाउँदेखि हिमाली जिल्लाका बिकट ठाउँमा समेत पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

हेर्नुहोस् यो भिडियो