केराबारी / मोरङको केराबारी गाउँपालिका २सिंहदेवीमा पर्ने पर्यटकीय स्थल जेफालेको फेदीमा नयाँ वर्ष २०७६को अवसर पारेर जेफाले साहित्यिक रचना वाचन गरिने भएको छ।

विगत वर्षहरुमा झैँ यसवर्ष पनि पर्यटन मेला,भलिबल प्रतियोगिताको उद्घाटन पश्चात् बैशाख २गते जेफाले साहित्यिक रचना वाचन कार्यक्रम गरिने भएको आयोजक कमिटीका अध्यक्ष भीम ठकुरीले बताउनुभयो।

कार्यक्रममा कवितातर्फ राष्ट्रिय स्तरका कविहरु सुदीप पाख्रीन,कवि राज माङ्लाक, कवि हेमन यात्री र कवि तथा समालोचक मुनाराज शेर्मा आफ्ना कविता मार्फत प्रस्तुत हुनेछन् भने गजलतर्फ जीवी गजल र युवराज ठकुरी अज्ञानी सन्देश तुम्बापोको प्रस्तुति रहने छ।त्यसै गरि अन्य उपस्थित स्रष्टाहरुले पनि जेफालेमा साहित्यिक रचना वाचन गर्ने आयोजक समितिका सदस्य विपन राईले बताउनुभयो।

gau

पर्यटनसँग साहित्य जोडेर पर्यटकीय स्थलको विकासमा टेवा पुर्‍याउने अभिप्रायका साथ जेफाले साहित्यिक रचना वाचनको कार्यक्रम आयोजना गरिएको केराबारी २ नम्वर वडाका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले बताउनुभयो।

पर्यटन मेलामा साहित्य वाचनसँगै नकाउट भलिबल प्रतियोगिताको पनि आयोजना गरिएको छ।प्रतियोगितामा प्रथम हुनेले ५१हजार एक सय ११रुपैयाका साथमा कप,मेडल र प्रमाणपत्र ,दोस्रो हुनेले २५हजार५ सय ५५ रुपैया कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद समितिका अध्यक्ष देवी लिम्बूले जानकारी दिनुभयो। सो कार्यक्रमको प्रायोजक केराबारी गाउँपालिका २ नम्वर वडा कार्यालय रहेको छ।