धरान / साहित्यकार काङमाङ नरेश राईको युद्ध कथासंग्रह ‘एघार नोभेम्बर’ बजारमा आएकोछ। युद्धको कथा समेटिएको कथासंग्रह ‘एघार नोभेम्बर’को शनिवार धरानको बिमल स्मृति पुस्तकालयमा प्यानल डिस्कसन भएको हो।

विश्वमा गोर्खाली गौरव र नेपाली समाजमा लाहुरेहरू शानका पात्रकारुपमा हेरिने वा देखिने गरेता पनि ब्रिटिस गोर्खा सेनाहरूको वास्तविकता चाहिँ कस्तो थियो/रहेको छ? राईले यसै विषयलाई कथाको विषय बनाएको वताउनुभयो।

ब्रिटिस गोर्खा सेनाबाट अवकाश प्राप्त कथाकार राईको कथासंग्रह ‘एघार नोभेम्बर’ भित्र ‘तक्मा’, ‘कान्ते अर्थात् क्रान्तिसिं’, ‘एक सेकेन्ड’, ‘ढङ्लङ बोजू’, ‘डिभोर्स’, ‘एघार नोभेम्बर’ र ‘लङ्टारिबुङ’ गरी सात वटा कथा समावेश गरिएका छन्। उहाँले ‘युद्ध बोकेको सिताङ’ उपन्यास र ‘खुकुरीको धारमा’ नामक लाहुरेका युद्ध–अनुभवकथा र ‘पप्पफूल’ कविता संग्रह प्रकाशित गरीसक्नुभएको छ। ‘खुकुरीको धारमा’ नामक पुस्तक ‘फियरलेस वरिवर’ नामबाट अनूदित भई बेलायतको ओलम्पिया प्रकाशन गृहबाट प्रकाशित भएको कथाकार राईले वताउनुभयो।

फिनिक्स बुक्सले प्रकाशन गरेको कृति ‘एघार नोभेम्बर’ यथार्थको आख्यान मान्न सकिने उहाँले वताउनुभयो। कृति बारे छलफल गर्न वक्ताहरु डा. इन्दिरा मिश्र र कवि बम देवानको उपस्थिती रहेको थियो।

कवि बम देवानले एघार नोभेम्बर पढिरहँदा आफै लडाईँमा भए झैं लाग्ने बताउँदै कथा संग्रह युद्ध साहित्य सँगसँगै सामाजिक यथार्थवादी भएको बताउनुभयो। उहाँले कथासंग्रह पहिचानको धरातलमा रहेको समेत वताउनुभयो। यस्तै डा. इन्दिरा मिश्रले संग्रहका कथाहरुले आफुलाई अत्यन्तै भावुक बनाएको भन्दै पहिचानको सवालमा भने हस्तक्षेपसँगै कथाहरुको पात्रको चयन गरेको बताउनुभयो।

चिन्तक चेवन राईले सहजिकरण गरेको सो कार्यक्रममा भोजपुर, मोरङ, सुनसरी, पाँचथर, धनकुटा लगायतका ठाउँबाट कवि, कलाकार तथा साहित्यकारहरुको उपस्थिति थियो।
-प्रमिला बान्तावा