बिराटनगर/ मासिकश्राव गडबड हुने र अत्याधिक रक्तश्राव हुने समस्याले महिलाहरुलाई सताउने गर्दछ। महिलाहरुमा हुने यस्तो समस्याले उनीहरुलाई शारीरिक तथा मानसिक तनाव दिने गर्दछ भने गर्भाधानमा समस्या हुने वा गर्भपतन हुने जस्ता समस्या पनि हुन सक्ने हुन्छ। यस्तै समस्याबाट ग्रसित एकजना २९बर्षिया महिलाको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्रसुती तथा स्त्रीरोग बिभाग र इन्टरमेन्सनल रेडियोजोली बिभागको समन्वयमा विना चिरफार उपचार गरिएको छ। पूर्वी नेपालमा पहिलोपटक यो प्रविधिबाट सफल उपचार गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ।

मझरियाका एकजना महिला बिगत धेरै बर्ष देखि महिनाबारी गडवड हुने, मासिकश्रावको समयमा अत्याधिक रगत बहने समस्याबाट ग्रसित थिइन्। विवाह पछि दुईपटक गर्भ तुहिएको र एकपटक पाठेघरको नलिमा गभाधारण भई अपरेशन गरि नलि नै फालिसकेको र मासिकश्रावको समस्या यथावत नै रहेकोले स्थानीय एक नर्सिङ्ग होममा उपचार गराउदै गर्दा उनलाई भारतस्थित एम्स हस्पिटलमा रिफर गरिएको थियो। भारत जान खर्च अभाव भएकाले एकपटक नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल गई जाँच गराउने भनि बिरामी र अभिभावक नोवेल आएका थिए। चेक जाँचको क्रममा नोवेलका प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रा.डा. शान्ति सुवेदीले बिरामीको समस्या र बिगतका उपचारको जानकारी लिदै परिक्षण गर्ने क्रममा अल्ट्रासाउण्ड गर्दा पाठेघरमा रगतको गुजुल्टो रहेको पाएकी थिइन्।

 avmडा.सुवेदीले “बिरामीको अल्ट्रासाउण्ड गर्दा उनको पाठेघरमा पानीको पोखरीमा भुमरी आएको जस्तो देखिने रगतको गुजुल्टो रहेको थियो जसलाई मेडिकल भाषामा आर्टेरियोभेनस मालफरमेशन भनिन्छ। बिरामीलाई यसैले गर्दा रगत बढि बहने र समस्याहरु आएको थियो। यसको उपचारको लागि कि त पाठेघर नै फाल्नुपर्ने हुन्थ्यो तर पाठेघर जोगाउन अल्ट्रासाउण्डको रिपोर्ट र बिरामीले नर्सिङ्ग होममा नै गराएर आएको एमआरआईको रिपोर्टको आधारमा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. गणेश देवकोटाबाट इन्टरभेन्सनल रेडियोलोजी प्रविधिको सहायताले रगतको गुजुल्टोको उपचार गर्न समन्वय भयो। खर्चको हिसाव गर्दा भारत गएर उपचार गर्दा जति खर्च हुन्छ त्यसको आधाको पनि आधा खर्चमा सफल उपचार भएको छ र त्यसपछिको स्क्यानहरुले पनि बिरामीको समस्याको राम्रो उपचार भएको देखाएको छ” भन्नुभयो।

Uterine Artery Embolizationनोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.गणेश देवकोटाले “प्रसुती तथा स्त्री रोग बिभागका प्रा.डा.शान्ति सुवेदीले बिरामीको बारेमा जानकारी दिनु भएपछि थप जाँचहरु पछि बिरामीको समस्याको उपचारको लागि यूटेराइन आर्टरी इम्बोलाइजेसन भन्ने प्रविधिबाट उपचार गर्ने तयारी गरियो। यो प्रविधी के हो ? यसको फाइदा र हुन सक्ने समस्याहरुको बारेमा विरामी र विरामीको अभिभावक संग छलफलपछि उहाँहरु उपचारको लागि तयार हुनुभयो र यो प्रविधिबाट उपचार भएपछि अहिले बिरामीको पाठेघरबाट रगत बग्न रोकिएको छ”भन्नुभयो।

 बिरामीका पतिले बिरामीको समस्या र उपचारबारे “बिरामीको मासिकश्रावको समस्याको लागि नर्सिङ्ग होममा उपचार गराउँदा कि त भारत जानु कि त काठमाण्डौ जानु भनेका थिए तर एकजना मित्रले एकपटक नोबेलको आईभिएफमा पनि जाँच गराउनु भनेकाले नोवेलमा आएर जाँच गराएको र डा.शान्तिले नै उपचार सहज बनाई दिनुभएको छ। अहिले विरामीलाई धेरै राम्रो भएको छ” भन्नुभयो।

Dr. Shanti Subedi

यूटेराइन आर्टरी इम्बोलाइजेसन प्रविधि भनेको के हो भन्ने जिज्ञासामा डा. देवकोटाले “यो प्रविधीको उद्देश्य भनेको पाठेघरमा हुने रक्तप्रवाहलाई रोक्नु हो। यो गर्नलाई पेट चिरेर ठूलो अपरेशन गर्नु होइन । निडिल, मसिनो तार र पाइप जसलाई वायर, क्याथेटर र माइक्रोक्याथेटर भन्दछौं त्यसको सहायताले रगतको नलिबाट छिराएर एन्जियोग्राफिको सहायताले पाठेघरमा जाने रगतको नशाहरु पहिचान गरी जुन रगतको नशालाई थुन्न पर्ने हो त्यसलाई बिभिन्न पदार्थहरुको सहायताले थुन्ने गरिन्छ। हाम्रो बिरामीको पनि पाठेघरमा रक्तश्राव गराउने रगतको नशालाई जेलफम प्रयोग गरी दुवै तिरको नशालाई बन्द गरेको छौँ ” भन्नुभयो।

Dr. Ganesh Devkotaकस्ता बिरामीलाई यो प्रविधीले फाइदा पुर्‍याउछ भन्ने प्रश्नमा डा.देवकोटाले “यो त्यस्ता बिरामीहरु जसको हिस्टेरोक्टोमी अर्थात पाठेघर फ्याल्न नसकिने वा भविष्यमा बच्चा जन्माउन इच्छा भएका बिरामीहरु, साना उमेरका बिरामीहरुलाई फाइदाजनक हुन्छ। यसले अनावश्यक रक्तश्रावलाई रोक्ने कार्य गर्दछ र पाठेघरलाई सुरक्षित राख्न सकिन्छ। त्यस्तै फाइब्रोइड यूटेरस वा पाठेघरमा ऐजेरु पलाएका बिरामीहरुलाई पनि ऐजेरुलाई रगत प्रवाह गर्ने नलिलाई बन्द गरेर पाठेघर जोगाउन सकिन्छ भने कुनै कुनै महिलाहरुलाई प्रसुतीपछि अत्याधिक रगत बहने समस्या हुने हुन्छ। त्यस्तो अवस्थामा पनि यो प्रविधिबाट रक्तश्राव रोक्न सकिन्छ भने बिभिन्न कारणले पाठेघरमा रगतको नसा गुजुल्टो पर्ने समस्यामा पनि यो प्रविधि प्रभावकारी हुन्छ। यो प्रविधीको फाइदा भनेको पेट चिर्नु परेन। शल्यक्रिया गर्नुपरेन। रगतको नशाबाट सानो तार क्याथेटर छिराएर गरिने भएकोले अस्पताल बसाई पनि छोटो हुन्छ। निको हुने समय पनि छोटो हुन्छ र पाठेघरलाई जोगाउन सकिने भएकोले भविष्यमा बच्चा जन्माउन पनि सकिने हुन्छ। यो प्रविधि पूर्वाञ्चलमा नै पहिलो पटक गरिएको छ। इन्टरभेन्सनल रेडियोलोजीको सहायताले नसा सम्बन्धी धेरै उपचार गर्न सहज भएको छ र यो सुविधा नोवेल मेडिकल कलेजमा रहेको छ” भन्नुभयो।

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बरालले पूर्वी नेपालमा नै सबै प्रकारका उपचार सेवा एकै छानामुनी उपलव्ध होस् र यहाँका बासिन्दाहरुलाई उपचारका लागि अन्यत्र जान नपरोस् भनि नोवेलले हर तरहको सेवाहरुको भौतिक पूर्वाधार तयार गरी सोही अनुसारको अत्याधुनिक उपकरणहरु र दक्ष चिकित्सा जनशक्तिको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार सोही अनुरुप नै निकट भविष्यमा क्यान्सरका बिरामीहरुलाई सुविधासम्पन्न रेडियो थेरापी सेवा पनि शुरु हुनेछ।