खोटाङ । १४ देशका ४० भन्दा बढी कलाकार अर्थात् चित्रकार खोटाङ आएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागिता जनाउन १४ देशका कलाकार खोटाङ आएका हुन् ।

जिल्ला आएका कलाकारहरुलाई बुधबार भव्य स्वागत गरिएको छ । यस अवसरमा जिल्लावासीहरुले १४ वटै देशको झण्डा फहराएर विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिए ।

आज (बिहीबार)बाट कलाकारहरुको यात्रा सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा पुगेर धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने कार्यक्रम छ ।

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीको आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

खोटाङको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको प्रमुख भट्टराईको भनाइ छ ।

लाइभ चित्र बनाउन नेपाल, अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट ख्यातिप्राप्त चित्रकारहरुको उपस्थिति छ । बुधबारबाट सुरु भएको कार्यक्रम २१ असोजसम्म चल्नेछ ।

ख्यातिप्राप्त कलाकारहरुले बनाएको चित्र असोज २० गते शनिबार सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा प्रदर्शनीसमेत गरिनेछ । उक्त दिन साङ्गीतिक प्रस्तुति दिन चर्चित गायक राजेश पायल राई (राई इज किङ) पनि दिक्तेल आउने कार्यक्रम छ । गायक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर दूतसमेत हुनुहुन्छ ।