काठमाडाै । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिए दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्। सन्दीपले आजको खेलमा एक विकेट लिए क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्। सन्दीपले यसअघि ४१ खेलमा ९९ विकेट लिइसकेका छन्।  आजको खेलमा एक विकेट लिए ४२ खेलमा सय विकेट पुग्नेछ।

सन्दीप ओडीआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वको दोस्रा खेलाडी हुन्। ओडीआईमा सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए।यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए। सन्दीप ओमानविरुद्धको खेलसहित दुइ खेलमा विकेटविहीन भए विश्व कीर्तिमान बनाउने अवसर गुम्नेछ।

दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा सय विकेट लिएका थिए। पाकिस्तानका सक्लैन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्ड र बंगलादेशका मुश्ताफिजर रहमानले ५४ खेलमा सय विकेट झारेका थिए। सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका थिए।

सन्दीपले ती ओडीआई खेलमा ५ विकेट झारेका छन्। ओडीआईमा नेपालबाट सय विकेट लिने सन्दीप पहिलो बलर बन्नेछन्।सन्दीपपछि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा सोमपाल कामी छन्। सोमपालले ४४ खेलमा ६१ विकेट लिइसकेका छन्। करण केसीले ३८ खेलमा ५६ विकेट आफ्नो नाममा गरेका छन्।