रेबिज घरपालुवा जनावर विशेषगरी कुकुरको टोकाइबाट बढी सर्छ। रेबिज एउटा यस्तो रोग हो, जुन लागेपछि बिरामीको मृत्यु नै हुन्छ। रेबिजको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन। त्यसैले कुकुरको टोकाइलाई सामान्य रुपमा लिनु हुँदैन। टोकाइको अवस्था, शरीरको भाग अनुसार रेबिज लाग्ने सम्भावना र जोखिम फरक हुने गर्छ। 

अहिले धेरै मानिसले घरमा कुकुर पाल्ने चलन बढेको छ। जसले गर्दा कुकुर तथा घर पालुवा जनावरले टोक्ने संभावना पनि बढ्छ। कुकुरले टोक्ने बित्तिकै के गर्ने भन्ने विषयमा हामीले ध्यान पुर्याउनुपर्छ। कुकुरले टोक्ने बित्तिकै सबैभन्दा पहिले टोकेको घाउमा साबुन–पानीले सफा गर्नुपर्छ। साबुन–पानीले सफा गरेपछि सकेसम्म छिटो अस्पताल जानुपर्छ। 

कुकुरको टोकाई शरीरको कुन भागमा छ, त्यसले पनि जोखिम निर्धारण गर्दछ। औंलाको टुप्पा, घाँटीभन्दा माथि, गहिरो खालको टोकाइ बढी जोखिमपूर्ण मानिन्छ। जोखिमपूर्ण मानिएका यी भागमा कुकुरले टोक्दा छुट्टै रेबिज इम्युनोग्लोबिन खोपको आवश्यकता पनि पर्छ।

कुकुरले टोकेका सबैलाई रेबिज विरुद्धको खोपको आवश्यकता पर्दैन। तर टेकु अस्पताल आउनेहरुलाई हामीले खोप लगाउने गरेका छौँ। कोही व्यक्ति कुकुरले टोकेको १० दिनपछि आएको छ। र, कुकुर पनि स्वस्थ छ भने खोपको आवश्यकता पर्दैन। टोक्ने बित्तिकै कुकुर देखिएन, कुकुर कतै भाग्यो वा भेटिएन भने खोप लगाउन हामी सुझाव दिन्छौँ।

रेबिज विरुद्धको खोप ढिलोमा र छिटोमा कति दिनमा लगाउनुपर्छ भन्ने सबैभन्दा महत्वपूर्ण विषय हो।  कुकुरले टोकेपछि छिटोभन्दा छिटो खोप लगाउनुपर्छ। तर कोही व्यक्ति ढिलो आएको छ भने पनि हामीले खोप लगाइदिने गरेका छौँ। छिटो लगाउन सकिएन भने ढिलो भए पनि खोप लगाउनुपर्छ।

घरमै पाले पनि कुकुर बाहिरका जनावरसँग पनि सम्पर्कमा आएको छ भने जोखिम हुन्छ। २४सै घण्टा घरको निगरानीमा कुकुर छ भने मात्र केही ढुक्क हुन सकिन्छ। काठमाडौंमा पनि रेबिज लागेका कुकुरहरु छन् भनिएको छ भने जोखिम त हुन्छ नै।

सामान्यतयाः लक्षण देखिन एकदेखि तीन महिना लाग्छ। तर यसको इन्क्युवेसन पिरियड फरक हुने भएकाले वर्षौंसम्म पनि देखिन सक्ने विभिन्न अध्ययनले देखाएको छ। औँलाको टुप्पो, घाँटीभन्दा माथि र एकभन्दा ठाउँमा बढी र गहिरो टोकाइ छ भने एक महिना भित्रैमा पनि लक्षण देखिन सक्छ। तर यी अंग र भाग बाहेक अन्यमा टोकाइ छ भने ६ देखि ९ महिनामा लक्षण देखिएको मेरो अनुभव छ।

 हावा र पानीबाट डराउने, टोकेको ठाउँमा झमझमाउने यसका लक्षण हुन्।  केहीमा ढाडको तल्लो भाग असाध्यै दुखेको महसुस बिरामीले गर्छन्। रेबिज लागेको बिरामी पहिले असाध्यै एग्रेसिभ हुन्थे भने अहिले केही शान्त हुने स्वभाव पनि मैले देखेको छु। भाइरलको स्वरुपमा परिवर्तन आएको हो कि भन्ने मेरो अनुभव छ। पानी र हावासँग डराउने लक्षण देखिएपछि बिरामी अब धेरै दिन बाँच्दैन भनेर बुझ्नुपर्छ।

रेबिज लागेपछि शरीरका अंगहरुले काम गर्न छोड्छ। रेबिजले सबैभन्दा पहिले मस्तिष्कको काम गर्ने क्षमतामै समस्या ल्याउँछ। हावा–पानी देखेर डराउन थालेको ५÷७ दिनमा व्यक्तिको मृत्यु नै हुन्छ। 

 रेबिज रोग सम्बन्धी सही सूचना र जानकारीको अभाव अहिले पनि छ। गाउँघरमा कुकुरले टोक्ने बित्तिकै औषधि पसलमा जान्छन्। उनीहरुलाई पनि रेबिज विरुद्धको तालिम वा जानकारी दिन आवश्यक छ। पहिले खोप नहुँदा मृत्यु हुन्थ्यो भने अहिले खोप भएर पनि मृत्यु भइरहेको छ।  रेबिजका कारण मृत्यु हुनेको संख्या अहिले पनि वर्षेनी बढ्दो छ। अहिले पनि कुकुरको टोकाइलाई धेरैले हेलचेक्र्यार्ई गरेको देखिन्छ।  कुकुरले टोकेको घाउ सानो होस् वा ठूलो हेलचेक्र्याईं गर्नु हुँदैन।