इटहरी ।  कोशी अस्पताल विराटनगरमा पहिलो पटक टाउको खोलेर मतिष्कभित्र गाढिएको हड्डी शल्यक्रिया गरी निकालिएको छ ।  मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मतिष्कमा गाढिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवको नेतृत्वको चिकित्कीय टिमले  राजभारको मतिष्कमा दुई हप्तादेखि गाढिएको हड्डी ढेड घण्टा शल्यक्रिया गरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । 

राजभार खेल्ने क्रममा दुई हप्ता अगाडी टाउकोमा बाँसको भाटाले लागेर गम्भिर चोट लागेको थियो । ठुला बुवा उमेश राजभारले ५ चैतमा कोशी अस्पतालको ओपीडिमा लिएर आए ।   विपन्न बालकको अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया र उपचार गरेको हो । ‘बाँसले लागेर टाउको हड्डी फुटेर मतिष्क भित्र गाढिएको सिटी स्कायन गरेपछि थाहा भयो । त्यसपछि शल्यक्रिया गरेर गाढिएको हड्डी निकालेका छौं,’ डा. यादवले भने, ‘ अहिले ठिक ठाउँमा आएको छ । विरामीको अवस्था सुधार भइरहेको छ ।’

शल्यक्रिया गरिएको दशदिनपछि विरामीलाई सोमबार डिस्चार्ज दिने तयारी गरिएको उनले बताए । ‘विरामीलाई अहिले खान, बस्न र हिडडुल गर्न सक्ने भएका छन् । शल्यक्रियापछि क्रमिक रुपमा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको हो,’ डा. यादवले भने । 
  
टाउँको खोलेर गरिएको यो शल्यक्रिया कोशी अस्पतालमा पहिलो भएको अस्पतालका निमिक्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा.रविनराज सिंहले बताए । ‘यसअघि अस्पतालमा टाउकोको सिस्टहरू निकाल्ने गरिएको थियो । अहिले टोउको खोलेर मतिष्कमा गाढिएको हड्डी निकाल्ने शल्यक्रिया यो  कोशी अस्पतालमा पहिलो हो,’ उनले उनले भने, ‘अहिले सफल शल्यक्रिया पनि भएको छ ।’ कोशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको उनले बताए ।  

 न्यूरो सर्जरीमा जनशक्ति र उपकरणको अभाव 

न्यूरो सर्जरी सेवा सुरू भएको कोशी अस्पतालमा प्रयाप्त मात्रामा जनशक्ति र उपकरणहरुको अभाव रहेको चिकित्सकहरुले बताएका छन् । कोशीमा न्यूरो सर्जरीको दरबन्दी एक जना रहेको छ । उक्त दरबन्दी पदपूर्ती भएको छ । न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुदाँ समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । ‘न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरुको आवश्यक रहेको छ । त्यससँगै थप उपकरणहरुको पनि आवश्यक रहेको छ,’ न्यूरो सर्जन डा. चन्द्र प्रकाश यादवले भने, ‘ तत्काल पोस्टप र माइक्रोस्कप उपकरण भए न्युरो सर्जरीको ठुला– ठूला शल्यक्रिया गर्न सकिने थियो ।’ 

थप जनशक्ति र प्रयाप्त उपकरणहरु भए ब्रेन ट्युमरको शल्यक्रियादेखि मेरुदण्डसम्मको उपचार गर्न सकिने उनले बताए ।  न्युरो सर्जरी आइसियूको पनि आवश्यक रहेको  उनले बताए । ‘यो जरुरी छ । अप्रेसन गर्नुमात्र ठूलो कुरा होइन् । त्यसपछि हुनुपर्ने कियर ठुलो विषय हो,’ उनले भने, ‘त्यसैले जनशक्तिको आवश्यक रहेको छ ।’

कोशीको ओपीडिमा हप्ताको तीन दिन न्यूरो सर्जरीको सेवाहरु हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडिमा चिकत्सक यादव बस्नेत गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबा र मंगलबार हुने गरेको अस्पतालले जनाएको छ ।