रौतहट । रौतहटका एक नगरपालिकाका प्रमुखको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह छन् । मेयर कानुको सट्टामा एसईई परीक्षा दिँदै गरेका उनका ज्वाइँ समेत रहेका साहलाई परीक्षा अनुगमन टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

जिल्ला शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख रामविनय कुमार सिंहले उनी पक्राउ परेको पुष्टि गरेका छन् । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा भइरहेको एसईईमा आइतबार दोस्रो दिनको परीक्षामा नियमिततर्फ सिम्बोल नम्बर–३५०३७२८ का विद्यार्थी नगर प्रमुख प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमललाई अनुगमन टोलीले पक्राउ गरेको हो ।

ससुराको सट्टामा परीक्षा दिइरहेका पक्राउ परेका साह पेशाले इन्जिनियर रहेको बताइएको छ । परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीमा शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका थिए । परीक्षा हलबाट समातिएका साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।