काठमाडौं। सरकारले कोशी प्रदेश नामकरणमा विवादमा चैत ५ गते भएको घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने भएको छ ।बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकले घटनाको सम्बन्धमा गृह मन्त्रालयले तत्काल समिति गठन गरेर छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले दिइन् ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले घटनाबाट आफू गम्भीर भएको बताएका थिए । सरकारले घटनाका विषयमा छलफलका लागि सरोकारवालाई पनि बोलाएको छ ।

गत फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो तर यो नामको विरोधमा चैत ५ गते विराटनगरमा विरोध भयो । यही विरोधका क्रममा प्रहरीले लाठीचार्ज गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर पदमबहादुर लिम्बु घाइते भएका थिए ।

उपचारकै क्रममा रहेका उनको शुक्रवार बिहान साढे २ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनको निधनपछि समस्या थप बल्झन सक्ने भएपछि सरकारले छानबिन समिति गठन गरेर घटनाको विषयमा अध्ययन गर्ने भएको छ ।