इटहरी/ सुनसरीको इटहरीका मेयर हेमकर्ण पौडेलले स्थगित गरेको नगर सभा आँफैले आव्हान नगरे कानुन अनुसार अघि बढ्ने बडाअध्यक्षहरुले संकेत गरेका छन्। इटहरीमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले यस्तो संकेत गरेका हुन्।

अव नगरसभा आब्हान भएन भने के गर्नुहुन्छ भन्ने पूर्वीखबरको प्रश्नमा वडा नम्बर ३का वडाध्यक्ष उमेश सुवेदीले आँफुहरुसँग बहुमत रहेको भन्दै तत्काल नगरसभा आव्हान नगरे उपमेयरको अध्यक्षतामा नगरसभा आव्हान गर्ने तर्फ संकेत गर्दै कानुन अनुसार अघि बढ्ने बताउनुभयो।

इटहरी उप–महानगरपालिकाको नगरसभा स्थगित भएको बिषयमा मेयर हेमकर्ण पौडेलले एमालेप्रति लाञ्छना लगाएको र अहंकारपूर्ण व्यवहार गरेको आरोप लगाउँदै इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीले मेयर पौडेलले आँफुहरु छलफलमा रहेको बेला मेयरबाट अचानक सभा सुरु भएर स्थगनको कुरा आएको भन्दै आँफुहरुले सभा बहिष्कारको शब्द नै ननिकालेको बताउनुभयो। IMG_9001

वडाध्यक्ष सुवेदीले भन्नुभयो ‘आँफुहरु १० मिनेटमै आउने भनेर मेयरलाई अनुरोध गरेपनि उहाँले हतारहतार सभा सुरु गरेर अनिश्चितकालका लागि स्थगन गर्नुभयो र फेरी हाम्रो दलमाथि आरोप लगाउनुभयो’ ।

वडाध्यक्ष सुवेदीले मेयर पौडेलले एमाले प्रति ‘बहुमतको दम्भ’ को लाञ्छना लगाइएको भन्दै आँफुहरु कसैले पनि कुनै किसिमबाट सभा बहिष्कारको कुरा नगरेको बताउनुभयो । वडाध्यक्ष सुवेदीले एमालेको आदेशमा सभा बहिष्कार गरेका जस्ता आधारहीन, तथ्यहीन र भ्रामक बिषय सामाजिक सञ्जालमार्फत आएपछि आँफुहरुको ध्यानाकर्षण भएको बताउनुभयो।

यस्तै इटहरी ९का वडाध्यक्ष जीतेन थापाले बिगतमा इटहरी सरकारले नियम विपरीत केही त्रुटिगत काम गरेपनि आँफूहरूले लचकता देखाएको भन्दै आँफुहरुले सरकार सञ्चालन हुनुपर्छ भनेर विगतमा अवरोध नगरेको, यस्तै ‘नियम विपरीतका केही काम हुँदा कतिपय ठाउँमा आँखा चिम्लिएको, लचकता अपनाएको तर उल्टै आँफुहरुमाथी आक्षेप लगाइएको बताउनुभयो।

उहाँले कर्मचारी भत्ता कटौतीको बिषयमा द्वारीकलाल चौधरी नेतृत्वको सरकारले चार हजार दिदैँ आएको र अहिले नयाँ जनप्रतिनिधि आएपछि एक हजार मात्रै बढाइएको भन्दै एउटा बिधि, पद्वति र प्रकृयामा जानुपर्छ भन्ने आँफुहरुको बिषय रहेको बताउनुभयो।

इटहरी १७ का वडाध्यक्ष प्रभात आचार्यले नगरसभा अनिश्चितकालका लागि रोक्नु निन्दनीय भएको भन्दै तत्काल सभा सुरु हुनुपर्ने बताउनुभयो।