इटहरी । जनसङ्ख्याको हिसाबले कोशी प्रदेश चौथो नम्बरमा परेको छ । आज सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ का अनुसार कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ । सबैभन्दा धेरै जनसङ्ख्या भने बाग्मती प्रदेशमा रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या कर्णाली प्रदेशमा रहेको छ ।

बाग्मती प्रदेशमा ६१ लाख १६ हजार ८६६ जनसङ्ख्या रहेको छ भने मधेस प्रदेशमा ६१ लाख १४ हजार ६ सय, लुम्बिनी प्रदेशमा ५१ लाख २२ हजार ७८ जना, सुदूरपश्चिम प्रदेशमा २६ लाख ९४ हजार ७८३, गण्डकी प्रदेशमा २४ लाख ६६ हजार ४२७ र कर्णाली प्रदेशमा १६ लाख ८८ हजार ४१२ जना मात्रै जनसङ्ख्या रहेको छ ।

कोशी प्रदेशमा राष्ट्रिय जनगणना २०६८ मा भने ४५ लाख ३४ हजार ९४३ जनसङ्ख्या रहेको थियो । १० वर्षपछि ४ लाख २६ हजार ४६९ अर्थात् ९.४० प्रतिशतभन्दा बढीले जनसङ्ख्या वृद्धि भएको हो ।

यस्तै लैगिक अनुपात हेर्दा सबैभन्दा धेरै मधेस प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १००.५५ र ८९.५१ प्रतिशत रहेको छ । कोशी प्रदेशमा भने लैंगिक अनुपात ९५.०२, बाग्मती प्रदेशमा ९९.३६ प्रतिशत, गण्डकी प्रदेशमा ९०.३७ प्रतिशत, लुम्बिनी प्रदेशमा ९२.०१ प्रतिशत र कर्णाली प्रदेशमा ९५.२७ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी जनसङ्ख्या हुने पाँच जिल्लामध्ये कोशी प्रदेशका ३ जिल्ला रहेका छन् । जिल्लाहरूमध्ये काठमाडौँमा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ भने मनाङमा सबैभन्दा कम जनसङ्ख्या रहेको छ । काठमाडौँमा २० लाख ४१ हजार ५८७ जनसङ्ख्या हुँदा दोस्रो नम्बरमा रहेको मोरङमा ११ लाख ४८ हजार १५६, तेस्रो नम्बरमा रहेको रुपन्देहीमा ११ लाख २१ हजार ९५७, चौथो नम्बरमा रहेको झापामा ९ लाख ९८ हजार ५४ र पाँचौँ नम्बरमा रहेको सुनसरीमा ९ लाख २६ हजार ९६२ जना रहेको छ ।

सबैभन्दा कम जनसङ्ख्या रहेको मनाङमा भने ५ हजार ६५८, मुस्ताङमा १४ हजार ४५२, डोल्पामा ४२ हजार ७७४, रसुवामा ४६ हजार ६८९ र हुम्लामा ५५ हजार ३९४ जनसङ्ख्या रहेको छ ।

सबैभन्दा बढी ऋणात्मक जनसङ्ख्या हुनेमा पनि कोशी प्रदेशका तीन जिल्ला परेका छन् । जसमा खोटाङ, भोजपुर र तेह्रथुम रहेको छ । खोटाङमा जनगणना २०६८ मा २ लाख ६ हजार ३१२ रहेको थियो भने जनगणना २०७८ मा १.५६ प्रतिशत ऋणात्मक हुँदा जनसङ्ख्या १ लाख ७५ हजार २९८ मा झरेको छ । यस्तै भोजपुरमा अघिल्लो जनगणनाको तुलनामा १.३९ प्रतिशत ऋणात्मक हुँदै जनसङ्ख्या १ लाख ५७ हजार ९२३ मा झरेको छ । अघिल्लो जनगणना २०६८ मा भोजपुरको जनसङ्ख्या १ लाख ८२ हजार ४५९ थियो । यस्तै २०६८ मा १ लाख १ हजार ५७७ जनसङ्ख्या रहेको तेह्रथुममा जनगणना २०७८ मा भने ८८ हजार ७३१ मा झरेको छ । जनसङ्ख्या बढी वृद्धि हुने देशभरका पाँच जिल्लामध्ये कोशी प्रदेशको झापा जिल्ला पाँचौँ नम्बरमा परेको छ । अघिल्लो जनगणना २०६८ मा ८ लाख १२ हजार ६५० जनसङ्ख्या रहेको झापामा १.९७ प्रतिशत वृद्धि हुँदै ९ लाख ९८ हजार ५४ जना पुगेको छ ।