विराटनगर । जिल्ला अदालत मोरङले ५५ वर्षे समानन्द यादवको हत्या आरोपमा तीन जना पूर्व वडाध्यक्षसहित सात जनालाई दोषी ठहर गरेको छ ।जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले शुक्रबार ७ जनालाई दोषी ठहर गरेको हो । अदालतबाट दोषी ठहर हुनेमा विराटनगर महानगरपालिका दुई जना वडाध्यक्ष र र जहदा गाउँपालिकाका एक जना वडाध्यक्ष सहित सात जना छन् ।

अदालतले विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेव यादव, १८ का पूर्व वडाध्यक्ष सञ्जय साह र जहदा–१ का पूर्ववडाध्यक्ष प्रदीपचन्द्र यादवसहित दिपेश यादव, भोलु यादव, विरेश कुमार यादव र विन्देश्वर यादवलाई हत्यामा संलग्न रहेको भन्दै दोषि ठहर गरेको हो ।विवाहको बिषयमा ३ वर्षअघि विवाद हुँदा ५५ वर्षे समानन्द यादवको मृत्यु भएको थियो । यादवको हत्या गरेको भन्दै परिवारका सदस्यले मुद्दा दायर गरेको घटनामा अदालतले दोषी ठहर गरेको हो ।

जिल्ला अदालत मोरङले उनीहरुलाई जनही २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । अदालतले सातै जनाबाट जनही १ लाख ५० हजार रुपैयाँका दरले मृतकका हकवालालाई क्षतिपूर्ति दिनुपर्ने आदेशसमेत दिएको जिल्ला अदालत मोरङका सुचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनले भने, ‘भोलु र सञ्जयको कैद भुक्तान पुरा भइसकेको छ । उनीहरुले शुक्रबार २० हजार जरिवाना समेत तिरिसकेका छन् । मृतकको परिवारलाई क्षतिपूर्ति दिने शर्तमा आईतबार उनीहरूलाई रिहा गर्ने तयारी छ ।’

२०७५ जेठ ३२ गते नातेदारको विवाहको विषयमा वडाध्यक्ष यादवको घरमा बसेको पञ्चायतीमा विराटनगर महानगरपालिका वडा नं. १४ का ५५ वर्षे समानन्द यादवमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका समानन्दको ०७६ असार २७ मा उपचारको क्रममा मृत्यु भएको थियो ।
आफ्ना नातेदारकी छोरीसँग समानन्दले छोराको बिहे गराउन नमानेपछि नियोजित रूपमा कुटपिट गरेर हत्या गरिएको भन्दै मृतकको परिवारले घटनामा संलग्न ३ जना वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।आरोपी ३ वडाध्यक्षमध्ये विराटनगर–१८ का वडाध्यक्ष सञ्जय साह र मोरङको जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

घरधनीसमेत रहेका विराटनगर– १४ का अध्यक्ष बलदेव यादवलाई भने अदालतले पूर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दिएको थियो । पछि जहदा गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द यादव उच्च अदालत विराटनगरको आदेशबाट र अभियुक्त दिपेश यादव ०७७ असार १८ मा सर्वाेच्चको आदेशबाट थुनामुक्त भएका थिए ।

किटानी जाहेरी परेकामध्ये दोषी ठहर भएका सातै जना हाल प्रहरी नियन्त्रणमा छन् । फरार रहेका बाँकी ३ जनाको मुद्दालाई अदालतले मुल्तबीमा राखेको छ । रविन यादव, शम्भु यादव र दिनेशप्रसाद यादव अझै फरार रहेकाले उनीहरुलाई अदालतले ३ वर्षका लागि मुल्तबीमा राखेको जनाएको छ ।