एकताका पूर्वमै साहित्यिक गतिबिधिमा सकृय मोरङको पथरीशनिश्चरे क्षेत्रको साहित्यिक प्रभावलाई पुनर्जागृत गराउन मासिक गोष्ठी सुरु गरिएको छ। नगरका लागि साझा सृजनशिल संस्थाका रुपमा खडा भएको एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा साहित्यिक गतिविधिलाई पुनर्जागृत गराउन प्रत्येक महिनाको पहिलो शुक्रवार दिउँसो मासिक साहित्यिक श्रृंखला अघि बढेको हो।

पथरीको मनोहर पार्कमा भएको पहिलो श्रृंखलामा फ्यूजनका सल्लाहकार भूपेन्द्र तिम्सिना, संस्थापक अध्यक्ष एवं प्रसिद्ध चित्रकार सरोजा खड्गी, अध्यक्ष एवं कलाकार टीकाराम राई, महासचिव साहित्यकार सुमन राईसहितले आआफ्ना प्रस्तुति दिनुभयो।

सर्जकहरु, इन्दिरा नेपाल, देव गुरुङ, राजेन्द्र भट्टराई, निर्मला बिश्वकर्मा, बुद्धिमान धिमाल, पिङ्की राईसहितले कविता, गजल र गीत प्रस्तुत गर्नुभयो। कार्यक्रममा हालै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको इटहरीको कार्यक्रमबाट सम्मानित फ्यूजनका अध्यक्ष टीकाराम राईलाई बधाई ज्ञापन गरिएको थियो।

अवको श्रृंखलामा रचनामाथि समीक्षा समेत गरी प्रभावकारी सृजनामार्फत नगरको सृजनात्मक पहिचान बनाउने लक्ष्य राखिएको कार्यक्रम संयोजक सुमन राईले जनाउनुभयो। संस्थाले फागुनको अन्तिम साता माटोको सजावटका सामग्री निर्माण गर्ने सेरामिक तालिम गर्ने समेत उहाँले बताउनुभयो।

संस्थाले सृजनाको महत्वलाई उजागर गर्न नगरमा कलात्मक फ्यूजन पार्कको अवधारणा अघि सार्दै नगरपालिका कार्यालयमा बिस्तृत योजना समेत पेश गरेको छ।