बिराटनगर । तालाबन्दीका कारण विराटनगरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ । नेपल विद्यार्थी संघ र अनेरास्ववियूले तालाबन्दी गरेपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र विराटनगर नर्सिङ क्याम्वसको स्ववियु निर्वाचन अनिश्चित भएको हो ।
 
आइतबार स्ववियु निर्वाचन हुने कार्यतालिका छ । दुबै कलेजले निर्वाचनको सबै तयारी गरेका थिए । तर शुक्रबार बेलुका नर्सिङ कलेजमा नेपाल विद्यार्थी संघ र शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन अनिश्चित भएको हो ।   दुवै संघगठनले निर्वाचन रोक्ने उदेश्यले तालाबन्दी गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । 

अखिल मोरङका अध्यक्ष तुलसी घिमिरेले सम्बोधन हुने माग राखेर क्याम्पसमा तालाबन्दी गरिएको बताए ।  अनेरास्ववियुले महेन्द्र मोरङमा मतदाता नामावली छानविन गर्नुपर्ने, क्याम्पस प्रशासनले  विद्यार्थीलाई निश्चित उम्मेदवारलाई भोट मागेको विषयमा छानविन गर्न माग गरेको छ ।  नेविसंघले निर्वाचनलाई निष्पक्ष, मयर्मदित ढंगबाट सम्पन्न गर्न आफूहरूले गरेको आग्रहलाई अटेर गरेको भन्दै नर्सिङ क्याम्वसमा तालाबन्दी गरेको थियो । 

निर्वाचनको सबै तयारी भइसेको अवस्थामा तालाबन्दी भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले बताए । विद्यार्थीको चुनाव भएकाले क्याम्पस प्रशासनले सहजीकरण गर्न सक्ने बताउँदै उनले सहमति नभए जोखिम लिएर निर्वाचन नगर्ने बताए । 

महेन्द्र मोरङ कलेजमा हारको मानसिकताले अनेरास्ववियूले तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए । महेन्द्र मोरङको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियूबाट नविन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् ।