इटहरी/ सुनसरीको इटहरीमा चैत ४ गतेदेखि १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गरिने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लवले शुक्रबार पत्रकार सम्मेलन गर्दै खेल बारे जानकारी गराएको हो।

चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल बाहिरका दुईवटा टिम र नेपाल भित्रका ६वटा टिमले सहभागिता जनाउने भएका छन्। नेपाल बाहिरका एभिनिएर फुटबल क्लब क्यामरुन र कञ्चनजङ्गा फुटबल क्लब भारतका अतिरिक्त आयोजक राष्ट्रिय जागृति क्लव इटहरी, मछिन्द्र क्लब काठमाण्डौ, चर्च ब्वाइज क्लब काठमाण्डौ, नेपाल आर्मी क्लब काठमाण्डौ, रोलिङ्ग क्लब झापा र सगरमाथा युथ क्लब मोरङले खेलमा सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ।

इटहरी रंगशालामा हुने खेलको बिजेताले नगद १०लाख, मेडल र ट्रफि यसैगरी उपबिजेताले नगद ५ लाख, मेडल र ट्रफी, म्यान अफ द सिरिजले १लाख अनि हरेक दिनको म्यान अफ द म्याचले नगद १०हजारसहित मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

७०लाख ५० हजार खर्च हुने अनुमान गरिएको खेलमा हरेक बिधामा २०हजार नगद अनि हाईस्कोररले ३०हजार प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

कन्ट्रोल लुब्रिकेन्टले प्रायोजन गरेको इटहरी गोल्डकपको नाम यसपटक पनि ‘१३औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता’ रहेको छ। यसअघि स्व.दानबहादुर फुयाल स्मृति गोल्डकप, निराजन स्मृति गोल्डकप, इटहरी गोल्डकप, मदन भण्डारी मेमोरियल इटहरी गोल्डकपआदि नाममा प्रतियोगिता सञ्चालन गर्दै आएको थियो।