काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले र उनका श्रीमान निर्माता छवि ओझाबीचको मुद्दा किनारा लागेको छ ।काठमाडौं जिल्ला अदालतले आइतबार गरेको फैसलामा आफ्नो जीत भएको र अदालतबाट न्याय पाएको महसुस भएको भन्दै शिल्पाले समाजिक सञ्जालमा लेखेकी छन् ।

अदालतले छविलाई आफ्नो भागको सम्पत्ति शिल्पालाई आधा दिनुपर्ने फैसला सुनाएको छ । अदालतले वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले बेहोर्नुपर्ने पनि फैसला गरेको छ । यसका साथै अदालतले दुवैको सम्बन्ध विच्छेदको मुद्दा पनि टुंग्याएको छ ।

छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ । छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएका छन् । छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् । शिल्पाले २०७६ सालमा ओझाविरुद्ध सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । त्यसबेलादेखि दुवै अलग–अलग बस्दै आएका थिए ।