काठमाडाै । अभिनेता पल शाह जबरजस्ती करणीको आरोपमा थुनामा परेको आइतबार ठिक एक वर्ष पूरा भएको छ।२०७८ फागुन १५ गते पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ उपस्थित भएका थिए। नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै उनीविरुद्ध २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्।

त्यसको चार दिनपछि पल पक्राउ परेकै दिन नवलपुरमा पनि उनले जबरजस्ती करणीकै आरोपमा जाहेरी दिएकी थिइन्। प्रहरीले १८ दिन अनुसन्धानपछि चैत ३ गते अदालतमा मुद्दा दर्ता भएको थियो। तनहुँ र नवलपुर अदालतले नै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। 

गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले पललाई बलात्कारको मुद्दामा सफाइ दिएको थियो। तर अदालतले उनलाई बालयौन दुरुपयोगको कसुरमा दोषी ठहर गर्दै अढाई वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। 

तनहुँ अदालतले भने उनलाई सफाई दिएको थियो। नवलपुर अदालतले कैद र क्षतिपूर्ति तोकेपछि पलत्यसविरुद्ध उच्च अदालतमा अपिल गर्न पुगेका थिए। सरकारी वकिल कार्यालयले पनि पललाई जबरजस्ती करणीकै कसुरमा सजाय माग गर्दै पुनरावेदन गरेको थियो। तर पीडित पक्षले भने जिल्ला अदालतमा बकपत्र गराउँदै जाहेरी झुटो रहेको र पल निर्दोष रहेको बयान दिएका थिए।

पीडितपक्षले नै पल निर्दोष रहेको बताए पनि नवलपुर अदालतले उनलाई कैद र जरिवानाको सजाय तोकेको थियो। उच्च अदालतले उनी ठिक एक वर्ष कैदमा बसेपछि निर्दोष ठहर गरेको हो। उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले पलविरुद्धको दाबी नपुग्ने ठहर गरेको हो। उच्च अदालत पोखराका प्रवक्ता विष्णप्रसाद आचार्यले पलविरुद्ध दाबी नपुगेको ठहर गर्दै सफाइ दिने फैसला भएको छ।

अब उच्च अदालतले जिल्ला अदालत नवलपुरमा पललाई सफाइ दिएको र जिल्ला अदालतको फैसला बदर गरेको पत्र पठाउने छ। त्यही पत्रका आधारमा जिल्ला अदालतले कारागारलाई पत्र पठाएपछि कारागारले पललाई छाड्ने छ। पल भोलि कारागारबाट छुटेपछि सिधै काठमाडौं आउने भएका छन्।