काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरोले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिबन्धित लागूऔषध २० हजार ३ सय एम्पुल र १२ हजार ९ सय ५० नाइट्राभेट ट्याव्लेटसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं महानगर–१६ स्थित दलाछी टोलमा रहेको सोलुखुम्वु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागूऔषध र ४ लाख १७ हजार नगद बरामद गरिएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।शेर्पालाई पक्राउ गरी थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोले त्रिभुवन विमानस्थलबाट थाई एयरलाइन्सको उडानद्वारा थाइल्याण्ड जान लागेका चार जना थाई नागरिकलाई चेकजाँच गर्ने क्रममा २३ किलो ८ ग्राम लागूऔषध चरेशसहित पक्राउ गरिएको ब्युरोका प्रमुख खनालले बताए । त्यस्तै ब्युरोले काठमाडौंको सिनामंगलबाट ३९ ग्राम खैरो हिरोइन सहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ । १२ ग्राम खैरो हिरोइनसहित कोटेश्वरबाट एक जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।