इटहरी । सुनसरीबाट गाँजा बोकेको पिकअप सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगंज गाउँपालिका–६ बाट आइतबार राती प्रहरीले गाडी सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

राजगंज सिनवारी–कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को १ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई चेक जाँचगर्दा गाँजा बरामद गरेको हो ।

कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी चालक धरान–१६ का २७ बर्षीय पुर्ण बहादुर राई र सह–चालक विजय राईलाई नियन्त्रणमा लिएको छ । गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।