भोजपुर । भोजपुरमा विदेशबाट फर्केका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरु यही नै कृषिमा जुटेका हुन् ।

विदेशबाट फर्केर व्यावसायिक बाख्रापालनमा लाग्नुभएका टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका उहाँ अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नुभएको हो ।

उहाँले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ५० बाख्रा छन् । राउतले विदेशमा राम्रो आम्दानी नभए पनि १० वर्षअघिदेखि थालेको बाख्रापालनबाट वार्षिक रु तीनदेखि रु पाँच लाखसम्म आम्दानी गरिरहेको बताउनुभयो ।

“विभिन्न तीन देश गरेर १५ वर्ष पसिना बगाए”, उहाँले भन्नुभयो, “धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिन, त्यहाँ पाएको दुःख सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरुपमा बाख्रापालनमा लागेको छु, बाख्रापालनबाट यहीँ राम्रो आम्दानी गरिरहेको छु ।”

विदेशमा गर्ने मेहनत यहाँ गर्नसके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । मानिसले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने राउतको भनाइ छ । “ठूलो सपना देखेर विदेश गएँ”, उहाँले भन्नुभयो, “विदेश जानु पहिला यहीँ व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ, अहिले पछुताएको छु, योजनाबद्धरुपमा व्यवसाय गर्नसके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।”

बाख्रापालनसँगै आफूले जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेको उहाँले बताउनुभयो । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । कृषकलाई व्यावसायिकरुपमा बाख्रापालनका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उहाँ बताउनुहुन्छ ।

“बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ”, राउतले भन्नुभयो, “राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो, मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु, तर भर्खर व्यवसाय थाल्नेलाई समस्या छ ।” आफ्नो बाख्राको बीमा गराएको भए पनि बिमा रकम लिन भने झन्झट रहेको राउतले बताउनुभयो । कागजी प्रक्रियाका कारण किसानमा बोज थपिएको उहाँको भनाइ छ ।

विदेशबाट फर्केर अर्का युवा प्रेम बस्नेतले पनि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आउनुभएको छ । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ । “विदेशमा धेरै नै दुःख छ”, बस्नेतले भन्नुभयो, “यहाँ दुःख गरेको सबैले देख्छन्, तर विदेशमा गरेको दुःख अरुले नदेख्ने मात्र हो, त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।”

विदेशमा यहाँबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको भनाइ छ । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । “यहाँ सोचे जस्तो विदेशमा सहज छैन”, बस्नेतले भन्नुभयो, “त्यहाँको दुःख सहन नसकेर करिब नौ महिना बिताएपछि यहाँ आएर व्यवसायमा लागेको हुँ, अहिले परिवारसँग बसेर व्यवसायबाट राम्रो आम्दानी गरिरहेको छु ।”

विदेशबाट फर्केर अर्का स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिकरुपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताउनुभयो । उहाँले व्यवसायबाट वर्षमा रु तीनदेखि रु पाँच लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । “विदेशमा लामो समय बिताए, सोचे जस्तो आम्दानी गर्न सकिँन”, उहाँले भन्नुभयो, “अहिले व्यावसायिकरुपमा जडीबुटी खेती गरिरहेको छु, परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।”

टेम्केमैयुङ–५ मझौलेका कुमार विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किबी तथा एभोकाडोको खेती गरिरहेको बताउनुभयो । गत वर्षबाट खेती सुरु गरेकाले अबका केही वर्षमा वार्षिक रु छदेखि रु आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक विष्टको भनाइ छ ।

“व्यावसायिकरुपमा फलफूल खेतीमा लागेको छु”, उहाँले भन्नुभयो, “गत वर्षबाट खेती विस्तार गरेको छु, अबको केही समयबाट वार्षिक रु छदेखि रु आठ लाख आम्दानी लिने लक्ष्य लिएको छु ।” युवाले विदेश जानुभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्नसके जीवन गुजारा गर्न समस्या नरहेको उहाँको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि नेपाल फर्केर आएर व्यावसायिकरुपमा काम सुरु गरेको उहाँले बताउनुभयो ।

“हामीभित्र स्वदेशमा नै मेहनत गर्ने बानी हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी यहाँ चाहिँ दुःख गर्न हिनताबोध गर्छौं, अब हामी युवा यहीँ नै केही गर्न आवश्यक छ, विदेशमा दुःख पाएपछि मात्र आफ्नो ठाउँ सम्झिने हाम्रो बानी छ ।” जिल्लामा पछिल्लो समय विदेशबाट फर्केर व्यावसायिकरुपमा कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको बताइएको छ ।