नयाँदिल्ली । भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । सन् १९५० मा आजकै दिन भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो ।

बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ । भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो ।त्यहाँ सन् १९५० को जनवरी २६ मा संविधान लागू गरिएको थियो ।

संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो । संविधान लागू भएको दिनको सम्झनामा हरेक वर्षको जनवरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । पहिलो गणतन्त्र परेड सन् १९५५ मा राजपथमा आयोजना गरिएको थियो । यो कार्यक्रममा पाकिस्तानका गभर्नर जनरल मलिक गुलाम मुहम्मद मुख्य अतिथि रहेका थिए ।