काठमाण्डौ/ नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय अन्तरगतका विभिन्न शाखा, उपशाखाका कर्मचारीहरुलाई १ महिना भित्र र चालू आर्थिक वर्षको अन्त्यसम्म गर्न सक्ने कार्ययोजनाहरु बनाउन निर्देशन दिनुभएको छ।

माघ ३ गते मन्त्रालयमा बहाली भएसँगै ५ गते मन्त्रालय मातहतका महाशाखा, शाखाका प्रमुखहरुसँग बैठक बसी मन्त्री चौधरीले एक महिना भित्र गर्ने र चालू आर्थिक वर्षको अन्त्यसम्म गर्न सक्ने योजनाहरु तीन दिनभित्र तयार गरी पेश गर्न निर्देशन दिनुभएको हो।

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भन्न वित्तिकै ग्रास रुटसम्म पुग्न सक्ने मन्त्रालय हो । जनतासँग जोडिएर गर्न सक्ने कामहरु के के हुन सक्छ, अहिले सम्म के के कामहरु भए, गर्न बाँकी के के छन्, चुनौति र सम्भावनाहरु के के छन् प्रष्ट योजनाहरु बनाउनुहोला ।’ आफ्नो कार्यकालमा कम्तिमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक अल्ल्पसंख्यक र अपाङ्गताका क्षेत्रमा दिर्घकालिन कामहरु गर्न चाहेको बताउँदै उहाँले भन्नुभयो।

बैठकमा मन्त्रालयका सचिव डिल्लीराम शर्माले प्रत्यक्ष जनता र समाजसँग जोडिएको मन्त्रालय भएपनि बजेटका हिसाबले सबैभन्दा कम बजेट प्राप्त हुने भएकाले ठूला कामहरु गर्न नसकिएको जानकारी दिँदै कतिपय ऐन नियमहरु समय सापेक्ष संसोधन नहुँदा पनि काम गर्न असहजता भइरहेको जानकारी गराउनुभयो। उहाँले योपटक विज्ञता र अनुभवका आधारमा मन्त्रालयका उद्देश्य, लक्ष्य बुझेको मन्त्री पाएकाले केही नयाँ तथा दिर्घकालिन योजनाहरु बनाएर काम गर्न आफुहरु उत्साहित भएको बताउनुभयो ।

बैठकमा मन्त्रालयको संगठन संरचना, कार्यक्षेत्र, नीति, कानुन, बजेट, कार्यक्रम, हालसम्मको उपलब्धि र चुनौतिका बिषयमा प्रस्तुतीकरण गरिएको थियो ।

प्रस्तुतीकरण पश्चात् मन्त्री चौधरीले नेपाल सरकारको वर्तमान नीति, सरकारले भर्खरै स्वीकृत गरेको साझा न्यूनतम कार्यक्रम, प्रधानमन्त्रीबाट सरकारका सचिवहरुलाई दिएको निर्देशन समेतलाई मध्यनजर गरी मन्त्रालयले आगामी एक महिनाभित्र र चालू आर्थिक वर्षको अन्त्यसम्म गर्न सक्ने कामहरुलाई समयतालिका सहित छुट्टाछुट्टै कार्ययोजना बनाई तीन दिन भित्र पेश गर्न निर्देशन दिनुभयो ।

कार्ययोजना तर्जुमा गर्दा महिला शसक्तीकरण, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, मानव वेचविखन तथा ओसार पसार नियन्त्रण, लैङ्गिक हिंसा निवारण, एकल महिला सबलीकरण, समाज कल्याण परिषद् एवम् संघ संस्था व्यवस्थापन समेतका विषयलाई समेट्न मन्त्री चौधरीको निर्देशन रहेको मन्त्रालयका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभएको छ।