इटहरी। सुनसरीको बर्जु गाउँपालिका ६ स्थित चिमडीको बर्जुतालमा आयोजना गरिएको १२ दिने बर्जू महोत्सव सम्पन्न भएको छ । तालको एक नम्बर गेटमा पुस २२ गतेबाट सुरु भएको बर्जू महोत्सव बुधबार सम्पन्न भएको हो । महोत्सवमा भारतको बिहार राज्यको भोजपुरी भाषाका फिल्म सुपर स्टार खेसारीलाल यादव सहितको प्रस्तुतिरहेकाले महोत्सव अवधिमा तीन लाख बढी आन्तरिक र भारतीय पर्यटकहरूले अवलोकन गरेका थिए ।

स्थानीयस्तरमा पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यसाथ गरिएको महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनसँगै प्रत्येक दिन विभिन्न कलाकारको प्रस्तुति र खेलकुदले बर्जू महोत्सव जाडोमा पनि दर्शकलाई तताएको थियो । मंगलबार भोजपुरी कलाकार खेसारीलाल यादवको बेजोड प्रस्तुति रहेको बर्जू सामुदायिक विकास केन्द्रका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए । चौधरीका अनुसार भोजपुरी कलाकार यादव आउने भएपछि महोत्सव स्थल प्रवेश गर्नको लागि प्रवेश शुल्क पाँच सय रुपियाँ पु¥याएको विवादमा सामान्य झडपसमेत भएको थियो ।

महोत्सवमा १० करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ । अघिल्ला महोत्सवमाभन्दा यस वर्ष दर्शक संख्या उल्लेख्य भएको आयोजकले जनाएको छ । लाखौँको सङ्ख्यामा बढेको आयोजकको भनाइ छ । महोत्सवमा ५० स्टल रहेको थियो । सुनसरी सदरमुकाम इनरुवादेखि १८ किलोमिटर दक्षिण पूर्व र मोरङको विराटनगर बरगाछीचोकदेखि करिब ९ किमी पश्चिममा पर्ने बर्जू ताललाई आन्तरिक तथा बाह्य पर्यटक माझ चिनाउन बर्जू महोत्सव आयोजना गरिएको बर्जू महोत्सव आयोजक कमिटीका अध्यक्ष चौधरीले जानकारी दिए ।

पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि प्रचार– प्रसारको अभावले ओझेलमा परेकाले यस क्षेत्रलाई चिनाउन बर्जुतालमा महोत्सवको आयोजना गरिदैआएको बर्जूका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीले बताए । गाउँपालिका अध्यक्ष जिवछ रायले तालमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको अवलोकनका साथै वनभोज खाने र रमाइलोका लागि बोटिङ र बालबालिकाका लागि फनपार्क समेतको व्यवस्था रहेकाले यसको प्रचारप्रसार आवश्यक रहेको बताए ।