झापा । कोरोना कहरका कारण थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना हुने भएको छ ।

झण्डै ४५ करोड रुपैयाँको कारोवार गर्ने गरी नेपालसहित बंगलादेश, भारत तथा पाकिस्तानका व्यवसायीलाई सहभागी गराउँदै महोत्सवको आयोजना गर्न लागिएको सोमवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको हो ।

महोत्सव यही फागुन ५ गतेदेखि १५ गतेसम्म आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ का संयोजक राजु न्यौपानेले बताए । महोत्सव बिर्तामोड–२को चारपाने र रामचोकको मध्य भागमा हुने बताइएको छ ।

महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्नुका साथै २ सय ५० वटा स्टलहरु रहने संयोजक न्यौपानेले जानकारी दिए । दोस्रो र तेस्रो मुलुकसँगको निर्यात व्यापारलाई बढावा दिने, आन्तरिक व्यापारलाई चलायमान गराउने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार गर्ने महोत्सवको उद्देश्य रहेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

महोत्सवको स्टलहरु आधुनिक, लेमिनेटेड पार्टिसनसहितको र अक्टोनर्म र डोम डिजाइनको स्टल रहने महोत्सवका व्यवस्थापक ललित सिंखडाले जानकारी दिए । उनले स्टलका दुईवटा ह्यांगर हुने बताएका छन् ।

प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी महोत्सव स्थललाई चार भागमा विभाजन गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिए ।

बिर्तामोड उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश १सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो । संघले यसअघि २०७५ साल माघ ११देखि २३ गतेसम्म बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरेको थियो ।

महोत्सवको मूल प्रवेशद्वारमा मुक्तिचोकको आकृति राखिने, सेल्फी जोन निर्माण गरिने बताइएको छ । महोत्सवमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, जुत्ताचप्पल, हस्तकला तथा तयारी पोशाक आदि महोत्सवमा राखिने जनाइएको छ ।