काठमाडौं । पोखरामा हिजो (आइतबार) भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज (सोमबार) देशभर सार्वजनिक बिदा दिइएको छ । दुर्घटनामा जनधनको ठूलो क्षति भएको छ ।

उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकबाटै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ । आज अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका अनुसार २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।

परीक्षा सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालयले लिने आजका (सोमबार) परीक्षा भने नरोकिने भएको छ । सरकारले सार्वजनिक बिदा दिए पनि पूर्वनिर्धारित परीक्षा सञ्चालन गरिने त्रिभुवन विश्वविद्यालयका रजिष्टार डा. पेशल दाहालले जानकारी दिए ।

उनले सरकारले दिने आकस्मिक सार्वजनिक बिदामा विश्वविद्यालयका पूर्व निर्धारित कार्यक्रमहरूले निरन्तरता नै पाउने गरेको बताए । आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोंचमा खसेको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।