काठमाडौं । पोखरामा हिजो (आइतबार) भएको यति एअरलायन्सको विमान दुर्घटनास्थलमा आज पनि खोजी र उद्धारको काम भइरहेको छ । विमानमा रहेका ७२ जनामध्ये अझै चार जनाको अवस्था अज्ञात रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । सेती नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएकाले उद्धारमा समस्या भएको छ ।

हिजो बेलुकी अबेरसम्म खोजी गर्दा पनि चार जनाको अवस्था थाहा हुन सकेको छैन । बाँकी ६८ जनाको शव हिजै फेला परेको छ । पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव आज पोखरामा नै आफन्तको जिम्मा लगाउने लगाउने तयारी छ । काठमाडौँका, आफन्त काठमाडौँ नै भएका र विदेशी यात्रुका शवलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी छ । प्रहरीका अनुसार धेरैजसो शवहरु पहिचान गर्न नसकिने अवस्थामा छन् । अहिलेसम्म ११ जनाको शव सनाखत भएको छ । 

हिजो बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट उडेको विमान पोखरामा अवतरण गर्न ठिक्क परेको अवस्थामा अचानक खोंचमा खसेको हो । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए । विमानमा ४ जना चालक दलका सदस्यसहित ५७ जना नेपाली, पाँच जना भारतका, चार जना रुसका, दुई जना दक्षिण कोरियाका तथा आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिजा र फ्रान्सका एक÷एक जना यात्रु रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।